काठमाडौं। काठमाडौं उपत्यकामा विहीवारवाट जारी भएको लकडाउनका समयमा अस्पताल जान आउन काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमित विरामी तथा अन्य विरामीका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। कोभिड–१९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि भएको छलफलवाट छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको हो।

यसवारेमा जानकारी दिदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोरोना संक्रमित भएका विरामीलाई निःशुल्क अस्पताल पुर्याइदिने व्यवस्था गरेको वताएका छन्। यसबाहेक अन्य समस्या भएका विरामीलाई अस्पताल लैजान काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने जानकारी पनि मेयर शाक्यले दिएका छन्।

निःशुल्क एम्बुलेन्स सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । यसबाट डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानु पर्ने व्यक्तिको अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान हुने पनि मेयर शाक्यको जिकिर रहेको छ।

नागरिकका समस्या सुनुवाई गरेर समाधान गर्न टोल फ्रि नंबर ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय काठमाडौं महानगरपालिकाले गरेको छ। यसैगरी समुदाय स्तरमा सचेतनाका बढाउन शिक्षकहरु परिचालन गर्ने, जोखिमयुक्त स्थानहरुमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेवल १) स्थापनाका लागि सहयोग गर्ने निर्णय काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकवाट भएको छ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न काठमाडौं महानगरपालिकाले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख रुपैयाँ निकासा पठाउने निर्णय गरेको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख १४ गते मंगलवार ।