काठमाडौँ। नेपालमा जारी अत्यासलाग्दो लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोनाभाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै मंगलवार प्रदर्शन भएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै स्वतःस्फुर्त रुपमा संगठित भएका युवाहरु प्रदर्शनमा उत्रिएका हुन। कोरोनाभाइरस नियन्त्रण गर्नका लागि खर्चिको भनिएको १० अर्ब रकमका पारदर्शिताको माग पनि प्रदर्शनकारीहरुले गरेका थिए।

प्रधानमन्त्रीको सरकारी निवास जाने बालुवाटार क्षेत्रमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीहरुलाई तितर–वितर गर्ने कार्य भएको छ। लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए।

केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको खुलासा गरेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ २७ गते मंगलवार ।