काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनको समयावधी लम्बिने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन सक्ने संकेत गरेका हुन।

कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो भन्दै उनले भयावह महामारीका कारण नेपालमा खाल्डोमा लाशमाथि लाश पुरिएको हेर्न नचाहेको ओलीले अन्तरवार्तामा बताएका छन्।

अन्तरवार्ताका क्रममा ओलीले भनेका छन, लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो ।’

ओलीले सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जनता जोगाउन गरिएको विषय हो। यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन’ पनि भनेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ। भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन। हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ। सङ्क्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ ।’

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ। सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ। यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो’ उनले भने, ‘ नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ। यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौँ । लकडाउन पनि त्यसैको उपज हो।’

नेपालमा अहिलेसम्म २९ हजार ५६७ वटा कोरोना भाईरसको परीक्षण गरिएको छ । देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा र १०३ जना एकान्तवासमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा चार जना निको भएका छन् ।
प्रकाशन मिति–२०७७ साल बैशाख ८ गते सोमवार ।