–युद्धविक्रम तामाङ
ललितपुर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को कारण नेपालमा लकडाउन भएको हप्तादिन पुग्न लागिसकेको छ। थप एकहप्ता लकडाउन हुने भएको छ। कोरोनाभाइरसवाट नेपाल र नेपालीलाई बचाउन नेपाल सरकारले गरेको यो लकडाउन अत्यन्त राम्रो उपाय तथा उपचार हो। यसको लागि नेपाल सरकारलाई मेरो सलाम छ।

लकडाउनमा नेपाली जनताले संयमता अपनाउन निश्चित रुपमा आवश्यक छ। लकडाउनको अवधिभर अनावश्यक रुपमा हुल गर्नु र गराउनु अपराध हो। सानो गल्तीले ठूलो महामारी फैलिने अत्यन्त डर हुन्छ। लकडाउनको बेला निश्चित रुपमा गाउंमा भन्दा शहरमा गाह्रो हुन्छ।

गाउंमा त गाउंमा नै फलेका धान, चामल तथा मकै, भटमास, गुन्द्रुक, हरिया तरकारी लगायतले महिनौ दिनसम्म धान्न सकिन्छ। इन्धनको लागि स्थानीय दाउरावाट पनि काम चलिहाल्छ। शहरमा भने, त्यो नहुनसक्छ। त्यसको लागि नेपाल सरकारले एकव्दार प्रणालीवाट राहत प्याकेज ल्याएर वितरण गर्नु आवश्यक छ।

राहतको नाममा कतिपय राजनीतिज्ञ तथा पूर्वमन्त्रीले राजनीतिक स्वार्थका लागि हुल जम्मा गरेर राहत वितरण गर्ने गरेको समाचार माध्यममा आएको देखिएको छ। लकडाउन उल्लङ्घन गरेर हुल जम्मा गरेर सिन्धुपाल्चोकको सुनकोशी गाउंपालिकामा सडक मजदूरलाई राहत भन्दै पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका
मोहनबहादुर वस्नेतले भने राहत वितरणको नाममा अनावश्यक हुल जम्मा गर्ने काम गरेको समाचार माध्यमहरुले उल्लेख गरेका छन्।

शनिवार पूर्वमन्त्री वस्नेतले ठूलो सङ्ख्यामा कार्यकर्तासहितको टोली लिएर सडक मजदुरलाई राहत भन्दै केही चामल, नुन वितरण गरेर लकडाउनको उल्लङ्घन गरेको समाचार माध्यमहरुले उल्लेख गरेका छन्। यसअघि दुई पटक ठूलो कार्यकर्ताको हुलसहित सुनकोशी गाँउपालिकामा वस्नेत पुगेका थिए। वस्नेतको टोलीले गरेको गतिविधिमा स्थानीयले आपत्ति जनाएका छन्। नागरिकलाई सुरक्षित गराउन सरकारले चालेको सकारात्मक कदमको वस्नेतले ठाडो उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा समेत उनको चर्को विरोध भइरहेको छ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले असुरक्षित आवागमन तथा हुलहुज्जत गर्न नपाइने उल्लेख गरेका छन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार नीतिबट राहत सहयोग गर्ने निर्णय भइसकेको बताएका छन्। सरकारको नीति विरुद्धको काम कतै पाइएमा कारवाही गरिने उनको भनाइ छ।

लकडाउन उल्लङ्घन गरेर राजनीतिक स्वार्थका लागि यसप्रकारका सहयोगले राम्रो सन्देश दिन सक्दैन। महाभूकम्पमा जस्तो तछाँड मछाँड गरेर राहत वितरण गर्न खोज्नु भनेको महामारी कोरोनाभाइरसलाई अझ फैलाउनु हो। यस्तो महत्वपूर्ण कुरालाई मतलव नगरेर व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि राहत वितरण गर्नु भनेको जनस्वास्थ्यमा गरेको ठूलो खेलवाड हो।

यसमा नेता महोदयले बुझ्नु आवश्यक छ। उहाँमा शायद यस संवन्धमा ज्ञान नभएको हो कि भन्ने मलाई लागेको छ। उहाँजस्तो पूर्व स्वास्थ्यमन्त्री तथा सञ्चारमन्त्रीलाई ज्ञान दिन म युद्धविक्रम तामाङ तयार छु। मोहन वहादुर वस्नेत जस्ता नेता मात्र होइन, आम जनता कसैले पनि लकडाउनको बेला जनतालाई नै असुरक्षित बनाउने गरेर लकडाउन उल्लङ्घन गरेर राहत दिने र दिलाउने कार्य सही राहत तथा सहयोग होइन।

राहत सहयोगका लागि निश्चित डायरा कायम गरेर सुरक्षाका राम्रो उपाय अपनाएर गर्नुपर्ने सवैको धारणा रहेको छ। गाउंमा नून, चामलको आवश्यकता भन्दा ज्ञानको आवश्यकता छ। कोरोनाभाइरसवाट बच्ने र बचाउने उपायको वारेमा जनचेतना दिनु आवश्यक छ। उनीहरुको लागि आवश्यक स्वास्थ्य सामाग्री सहज रुपमा उपलव्ध गराउन जरुरी छ।

रोग लागेमा आवश्यक क्वारेन्टाइनको व्यवस्था गर्न सक्नु पर्दछ। राहत प्याकेज त सरकारले निश्चित दायरा कायम गरेर एकव्दार प्रणालीवाट सुरक्षित ढंगवाट भारतमा जस्तै लागू गरेर चाँडै वितरण गर्ने नै छन्। यसमा हामी सवैको अपेक्षा छ। त्यसको विपरित व्यक्तिगत राजनीतिक स्वार्थका लागि जनतालाई असुरक्षित बनाएर राहत प्याकेज बांड्नु राम्रो कार्य भने अवश्य होइन्।
(लेखक–राजनीतिज्ञ विश्लेषक हुनुहुन्छ। यो उहाँको नितान्त व्यक्तिगत विचार हो)
प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।