नवलपरासी। पासा पुच गुठी साउथ ईष्ट लण्डनको आयोजनामा म्हःपूजा २०१८ तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल सम्बत ११३९ को पावन अबसरमा ८ नोभेम्बर २०१८ बिहीबारका दिन बेलुका ४ बजे देखि ११ बजेसम्म हुने भएको छ।

सो कार्यक्रम एसियन कन्युनिटि सेन्टर ह्वाईट हर्ट रोड लण्डनमा आयोजना हुन गईरहेको पासा पुच गुथि साउथ ईन्ट च्याप्टरका अध्यक्ष सुशिल प्रजापतिले भिजन संसार डटकमलाई बताएका छन्।। अध्यक्ष प्रजापतिले नेपाल र नेपालीहरुको मौलिक पर्व म्हःपूजामा सरिक हुन बेलायतमा रहेका सवै नेपालीहरुलाई अनुरोध गरेका छन्। म्हःपूजा कार्यक्रमका साथमा नेपाली टिपिकल नाचहरु पनि प्रस्तुत गरिने भएको छ।

नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि सन २००० मा स्थापना गरिएको संस्था पासा पुचः गुठी युके हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेको संस्थाका महासचिव नगेन्द्र श्रेष्ठले भनेका छन्। नेवारी भाषामा म्हः भनेको शरीर हो।

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ।

किम्बदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो। त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ५ गते सोमवार।