अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की
लोकमानसिंह कार्की

काठमाडौ। तीन बर्षअगाडि नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त बनेका लोकमानसिंह कार्की तीन बर्षपछि बल्ल आइतवार अयोग्य ठहर भएको छ। नेपालको सर्वोच्च अदालतले लोकमानलाई अयोग्य ठहर गरेर पदमुक्त गराएको छ।

सर्वोच्च अदालतका तीन न्यायाधिशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले प्रमुख आयुक्त कार्कीसँग प्रमुख हुनका लागि अनुभव र नैतिक चरित्र नै नभएको फैसला गरिदिएको छ।

फैसलामा भनिएको छ- ‘रायमाझी आयोगको प्रतिवेदन तथा नेपाल सरकारबाट कार्कीलाई पदबाट बर्खास्त गर्न स्पष्टिकरण सोध्ने लगायतको कारबाही प्रक्रिया अगाडि बढाइएको सन्दर्भमा निजलाई उच्च नैतिक चरित्र भएको तथा ख्याति प्राप्त गरेको भनी मान्न मिल्ने समेत देखिन आएन।’ अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए।

अदालतले म्याद तामेलीको मुद्दामा कार्की र पूर्वसचिव प्रमोदकुमार कार्कीलाई सफाइ दिएको छ भने कार्कीका ज्वाइँ प्रवल थापालाई दोषी ठहर गरेको छ। थापासँगै तामेलादार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी सब इन्स्पेक्टर नकुलराज गौतमले मुलुकी ऐन अ. बं. १११ नं प्रतिकूल काम गरेको देखिएको अदालतको ठहर छ।
प्रकाशन मिति–२०७३ साल पुस २४ गते आइतवार ।