काठमाडौं। एक जिल्लावाट अर्को जिल्लामा आवत–जावत गर्न जतिसुकै कडाइ गरेतापनि काठमाडौं उपत्यकामा वाहिरी जिल्लावाट ७ हजारजना भित्रिसकेका छन्। गृह मन्त्रालय स्रोतको हवाला दिदैं कान्तिपुर दैनिकको अनलाइन संस्करणले वाहिरी जिल्लावाट काठमाडौं उपत्यकामा ७ हजारजना भित्रिसकेको उल्लेख गरेको हो।

वितेको २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजारजना काठमाडौं उपत्यका भित्रिएका हुन्। सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम जारी छ।

नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ। विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन्। प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा आउने जाने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्न थालेको छ। अझ दिउँसो काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि नापिन्छ।

काठमाडौं प्रवेश गर्ने यात्रुको विवरण टिप्ने केही प्रहरीले पीपीई सेट पनि लगाएका छन्। हातमा पन्जा र मास्क सबैले लगाएका छन्। यो नाका हुँदै आउने सवारीले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर ल्याएपछि सहजै काठमाडौं प्रवेश पाउँछन्।

नागढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ। प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा निजी गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन्। आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए। यी बाहेक तरकारी, दुध, खाद्यन्न, निर्माण सामाग्री बोकेर काठमाडौं आउने सवारीमा पनि यात्रु ओसार्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।
प्रकाशन मिति–२०७७ साल बैशाख ३० गते मंगलवार ।