–श्याम स्मृत
काठमाडौं। विश्वभर महामारीको रुपमा आतंक मच्चाइरहेको कोरोनाभाइरसको संक्रमण फैलिनवाट बच्न र बचाउन नेपालमा जारी लकडाउन ५१ औं दिनमा पुगेको छ। चैत ११ गतेवाट लकडाउन भएको नेपाल आज बैशाख ३१ गते बुधवारसम्म आइपुग्दा ५१ औं दिन पुगेको हो।

लकडाउन ५१ औं दिन पुग्दा कोरोनाको संक्रमण नियन्त्रित बन्ने र संक्रमण शुन्यमा जाने जुन सोच र लक्ष्य राखिएको थियो। त्यो हुन सकेन। लकडाउनको ५० औं दिन बैशाख ३० गते मंगलवारवाट संक्रमितको संख्यामा ज्यामितिय ढंगवाट एकैदिनमा उकालो लाग्यो। अर्थात एकैदिनमा ८३ जना संक्रमित भएको सरकारले पुष्टि गरेपछि भयावहको स्थिति सिर्जना भएको सवैले अनुमान गरेको छ। संक्रमितको संख्या ५० औं दिनमा २१७ पुग्यो।

अर्कोतर्फ, ग्रीनजोन मानिएको संघीय राजधानी काठमाडौं उपत्यकाको काठमाडौंमा १ जना र भक्तपुरमा २ जना संक्रमित पुष्टि भएपछि काठमाडौंवासी त्रसित बने। अर्कोतर्फ, संक्रमित जिल्लाहरुवाट समेत वितेको २४ घण्टामा काठमाडौं प्रवेश गर्नेहरुको संख्या ७ हजार पुगेको तथा पास नभएकाहरु चोरवाटो भएर काठमाडौं प्रवेश गरेको खवरले काठमाडौंमा खतराको घण्टी बज्नु स्वभाविक हो।

यस्तो कार्यलाई कडाई गर्नुभन्दा पासको नाममा ज्यादै दूरुपयोग भएको र दूरुपयोग गर्ने सरकारी कर्मचारी देखि राजनीतिक व्यक्ति विशेष नै भएको खुलेको सर्वविदितै छ। जसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको क्याविनेट बैठकमा मंगलवार मन्त्रीहरुलाई कडा निर्देशन दिदै सवैखाले पास क्यान्सिल गर्न भनेका छन्। जसको कारण बुधवारवाट सवैखाले पास क्यान्सिल भएको खवर धाराप्रवाह आइरहेको छ।

यसवाट दुईदिन खुकुलो हुनपुगेको लकडाउनमा अव कडाई हुने होला भन्ने अपेक्षा गरिएको छ। ५१ औं दिनमा पुगेको कोरोनाको डरलाग्दो कहरमा गएराति ११ः५५ बजे ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का दोलखा केन्द्रविन्दू भएर काठमाडौंसम्म आइपुग्दा निन्द्रा हराम बनेको थियो। एकातिर भूकम्पको धक्का अर्कोतिर कोरोनाको डरलाग्दो कहरमा थामिनसक्नु भएको छ।

लकडाउनको ५१ औं दिनसम्म आइपुग्दा सरकारले ल्याएको दुई विधेयक र त्यो विधेयक पारित भएको चौविस घण्टा पनि नवित्दै फिर्ता हुनु, ओली नेतृत्वको सरकार रेडजोनमा पर्नु र भारतले नेपालको दार्चुला जिल्लाको कालापानी लिपुलेक हुंदै चीनको तिब्बत जाने मानसरोवरको सडक निर्माण गरेर उदघाटन हुनु सुपरहिट घटनाक्रम बनेको छ।

अर्कोतर्फ बैदेशिक रोजगारमा गएका नेपालीहरुको फर्कने लिष्ट ५ लाख नाँघिनु र उनीहरुलाई फर्केपछि सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता जटिल प्रश्न अनि साउदी लगायतका मुलुकमा करिब ७ सय नेपालीहरुलाई कोरोनाको संक्रमण हुनुजस्ता दुःखद खवरले पनि लकडाउन तातिएको छ।

भारतले बारम्बार गर्दैआएको सीमा अतिक्रमणवाट नेपाललाई बचाउन सीमामा पर्खाल लगाउने या राष्ट्रवादी नायक नवल खड्काको काँडेतार अभियानलाई मूर्तता दिनुपर्नेजस्ता सवालहरु पनि उठेको छ। यसतर्फ सरकार सचेत हुनै पर्ने बेला भैसकेको छ।

त्यस्तैगरेर, लकडाउनको ५१ औं दिनसम्म पुग्दा सवैको व्यापार व्यवसाय ठप्प भएको अवस्था छ। प्राय सवैको रोजगारी गुमेको छ। हातमा दुई रुपैया पनि खेलाउन नपाउने अवस्थाको सिर्जना भैसकेको छ। सरकार ज्यालामजदूरी गर्ने विपन्न वर्गलाई राहत वितरणको नाममा प्रेम भोजन लगायत श्रममा आधारित रोजगारी दिने भनेर भनिरहेका छन्। व्यवहारमा त्यसलाई कसरी लागू गर्ने भन्ने विषयमा सरकार स्वयम् अलमलमा देखिन्छ।

लकडाउन विपन्नको मात्र समस्या नभइकन मध्यम वर्गका लागि त भयावह नै हो। यसतर्फ सरकारले सोच्न ढिला गरिरहेको छ। भारतमा जस्तो भोटर कार्डको हिसावले सवैलाई राशन कार्ड उपलव्ध गराउन सरकार चुकिरहेको छ। एकातिर लकडाउन लम्ब्याइरहने अर्कोतिर सवै नेपाली जनतालाई राहत पुग्ने कुनै कार्य गर्न नसक्नु सरकारको ढिलाई तथा कमजोरी हो।

समुद्र नै नभएको भूपरिवेष्ठित मुलुक नेपालमा पानी जहाज कार्यालय खोल्नु र त्यस कार्यालयका लागि आवश्यक सवारी साधन खरिद गर्न ९ करोड विनियोजित गर्नेजस्ता अलोकप्रिय कार्य गर्नुको सट्टा त्यस्ता अनावश्यक कुरामा विनियोजित गरेको बजेट लकडाउनमा नेपाली जनताको लागि सर्वहित हुने राहत कार्यमा लगाएको भए कति जाति हुनेथियो। यस्ता धेरै कुरामा सरकारको ध्यान जानु जरुरी भैसकेको छ। सरकार चुक्नु भएन!


प्रकाशन मिति–२०७७ साल बैशाख ३१ गते बुधवार ।