काठमाडौं। जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेका उनी पक्राउ परेका थिए।

उनलाई पक्रन महोत्तरी जिल्ला अदालतले अनुमति दिएको थियो। जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहलाई पक्राउ गर्न मंगलवार नै अनुमति दिएको हो ।

साह राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्दछन् । उनी सर्लाहीबाट निर्वाचित भएका हुन् । काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार उनले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्र तोडफोड गरेका थिए ।

सोमबार बिहान ११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि आवेशमा आएका उनले तोडफोड गरेका थिए ।

घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।
प्रकाशन मिति–२०७६ साल असोज २९ गते बुधवार ।