• काठमाडौ। सम्पदाको धनी शहर काठमाडौको मुटु न्यूरोडमा सम्पदामैत्रीले भरिएको व्यापारिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। विश्वलाई नै चकित बनाउने प्रकृतिको यो व्यापारिक भवनको नाम महर्जन कम्प्लेक्स राखिएको छ।

  • विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको तत्कालिन क्रिस्टल होटल र पछि क्लासिक होटल भएको स्थानमा नै नयाँ संरचनाको निर्माण भएर महर्जन कम्पलेक्स बनेको हो।

  • महर्जन विजनेस एशोसिएट्स प्रालिले आगामी दशैं– तिहारको अवसर पारेर महर्जन कम्प्लेक्सको उदघाटन गर्ने जनाएको छ। सोही अनुसार निर्माण कार्य भैरहेको छ। बसन्तपुरस्थित गद्दी वैठकसँग मिल्दोजुल्दो प्रारुपमा यस न्यू क्लासिकल भवनको स्वरुपलाई युनेस्कोले पनि सम्पदामैत्री भन्दै प्रशंसा गरेको कंपनीको दावी रहेको छ।

  • यस भवनले न्यूरोड क्षेत्रकै शोभा बढाउने पनि कंपनीले भनेको छ। महानगरीय प्रहरी वृत्त, कार्यालय जनसेवाको नाकै मुनि रहेको यस भवनमा सिसिटिभिको समेत निगरानी रहने भएकोले सुरक्षाको दृष्टिले अत्यन्त ढुक्क हुन सक्ने भवनको रुपमा पनि लिइएको छ। प्रत्येक तल्लाहरुमा नेपालका विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुलाई प्राथमिकताका साथ स्थान दिँदै चित्रहरु रहने भएको छ।

    ‘व्यवसायिक भवनले पनि यस क्षेत्रको सम्पदाको सम्मान गर्नुपर्छ भन्ने हाम्रो मान्यता भएकाले सोही अनुसार हामीले हाम्रो भवनको स्वरुपलाई सम्पदामैत्री बनाएका छौं । स्वरुपलाई सम्पदामैत्री बनाउन कुनै कसर बाँकी राखेका छैनौं’ महर्जन बिजनेस एशोसिएट्स प्रा.लि.का अध्यक्ष कृष्णलाल महर्जनले बताए।

  • यस भवनभित्र एकसय वर्गफिटदेखि पाँचसय वर्गफिटसम्मका ६० वटा पसल कवलहरु निर्माण भएका छन् । करीब एक हजार जनाले रोजगारको अवसर पाउने अध्यक्ष महर्जनले भनेका छन् ।

    महर्जनले महर्जन कम्प्लेक्समा ज्वेलरी, रेस्टुरेन्ट, फेन्सीलगायतका विभिन्न पसलहरु रहने जानकारी दिँदै यस भवनलाई ज्वेलरी कम्प्लेक्सको रुपमा विकास गर्ने सोच रहेको पनि बताएका छन्।

  • प्रकाशन मिति–२०७५ साल असार १७ गते आइतवार ।