भक्तपुर। प्राचिन सांस्कृतिक नगरी भक्तपुरको आकर्षण भनेको पाँचतल्ले न्याँतापोल मन्दिर हो। जुन विश्वकै अनुपम मन्दिरका रुपमा रहेको कारण विश्वसम्पदा सूचीमा सूचीकृत समेत रहेको छ। यो न्याँतापोल मन्दिर निर्माण भएको पनि ३ सय १९ वर्ष पुगेको छ।

३ सय १८ वर्ष पुरा भइ ३ सय १९ प्रवेशको अवसरमा मन्दिरमा विशेष पूजा गरी गजुरमा झण्डा फहराइएको छ। प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाको दिनलाई न्याँतापोल मन्दिरको जन्मोत्सव मनाउने कार्य हुंदैआएको छ। यसदिन विशेष पूजा गरी मन्दिरको गजुरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइने परम्परा छ।

कोरोना महामारीका कारण सिमित व्यक्तिको उपस्थितीमा सामान्य पूजा गरेर यो बर्ष सोमवार झण्डा फहराइएको पुजारी पदम कर्माचार्यले वताएका छन्। न्याँतापोल मन्दिरमा राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभँडेल पूजारीहरुले पूजा गर्ने परम्परा छ। मन्दिरको गजुरमा तुछिमला टोलका अवालहरुले झण्डा फहराउने गर्दछन् ।

नेपाल सम्वत ८२२ राजा भूपतिन्द्र मल्लले सिद्ध अग्‍नी कोत्याहुती होम लगाएर श्री सिद्धिलक्ष्मी देवीलाई न्याँतापोल मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहासमा उल्लेख छ। सोही दिनको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिनलाई न्याँतापोल मन्दिरको जन्मोत्सवको रुपमा झण्डा फहराइने गरिन्छ।


प्रकाशन मिति–२०७७ साल असार ८ गते सोमवार ।