काठमाडौं। कोरोनाको कहरका कारण विश्व आक्रान्त भएको बेलामा सुनको मूल्यमा भने व्यापक वृद्धि भएको छ। विश्व बजारमा सुनको मूल्यमा आएको व्यापक वृद्धिको असर नेपालमा पनि परेको हो। जसअनुसार, नेपालको घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।

अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले सोमवार बढेको छ। विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ।

यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ। मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ।

विश्वमा सुनचाँदी बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा अझ बढ्न सक्ने अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७७ साल असार ८ गते सोमवार ।