काठमाडौं। विश्व नेवाःसंगठनको तेश्रो महाधिवेशन नेपालमा हुने भएको छ। यही मार्च २८ देखि ३० सम्म अर्थात चैत्र १४ गते देखि १६ गतेसम्म तीन दिन नेपालमा महाधिवेशन हुन लागेको हो।

विश्वभरका बीस देशवाट करिब १ सयजना नेवाःहरुको सहभागिता रहने भएको छ। त्यसको अलावा नेपालका विभिन्न जिल्लावाट प्रतिनिधित्व गर्ने नेवाःहरु सहित महाधिवेशनमा ५ सयजना नेवाःहरुको सहभागिता हुने जानकारी विश्व नेवाःसंगठन तेश्रो महाधिवेशन नेपाल आयोजक समितिका अध्यक्ष पुष्कर माथेमाले बताएका छन्।

नेपालभित्रका मात्र नभई विश्वभरिकै नेवाः सरोकारका विषयमा यस महाधिवेशनमा छलफल हुने जानकारी पनि संयोजक माथेमाले दिएका छ। महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्वको पनि चयन हुने भएको छ।

महाधिवेशनमा नेवाःसभ्यता र संस्कृति झल्काउने विभिन्न कार्यक्रम पनि हुने जानकारी आयोजक समितिकी उपाध्यक्ष रश्मिला प्रजापतिले भनेकी छन्। महाधिवेशनको अन्तिम दिनलाई विश्व नेवाःदिवसको रुपमा मनाउने तय भएको पनि जनाइएको छ।

विश्वका एक सय मुलुकमा छरिएर रहेका नेवाःहरुलाई एकिकृत गर्ने कार्य भैरहेको र हाललाई २० वटा देशमा नेवाःहरुको विभिन्न खलःपुचः मार्फत नेवाःहरुलाई एकिकृत गर्ने कार्य भैसकेको पनि आयोजक समितिले भनेको छ। सन् २०११ अक्टोबर २९–३१ मा बेलायतको राजधानी लण्डनमा विश्व नेवाः संगठनको पहिलो महाधिवेशन भएको थियो। दोश्रो महाधिवेशन भने सन् २०१६ मार्च २५–२७ मा अमेरिकाको बाल्टिमोरमा भएको थियो।

लण्डन महाधिबेशनले नै विश्व नेवाःसंगठनको स्थापना गरिएको हो। अमेरिकाको बाल्टिमोरमा प्रधान कार्यालय रहेको यस संस्थाको विश्वको नौवटा मुलुकमा च्याप्टर गठन भैसकेको छ। पन्ध्र मुलुकमा भने प्रतिनिधि चयन गरिसकेको पनि जनाइएको छ।

प्रकाशन मिति–२०७५ साल फागुन १८ गते शनिवार ।