काठमाडौं। काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित द स्प्याङ्गल बोर्डिङ हाई स्कुलले २५ औं अभिभावक दिवस मनाएको छ। आइतवार आयोजित अभिभावक दिवसमा ३ नंबर प्रदेशका सांसद राजेश शाक्य तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर हरिप्रभा खड्गी श्रेष्ठको विशेष आतिथ्यतामा स्प्याङ्गल हाई स्कुलले २५ औं अभिभावक दिवस मनाएको हो।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको स्प्याङ्गल हाई स्कुल प्रागंणमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो ठाउं–टोलका स्कुलहरुमा आफ्ना छोरा–छोरीलाई पढाउन अनिवार्य भएको राय व्यक्त गरेकी छन्।

नजिकको आफ्नो ठाउं–टोलका स्कुललाई बेवास्ता गरेर टाढा–टाढाका महंगा स्कुलहरुमा पढाउने प्रवृति निश्चित रुपमा नराम्रो भएको तर्क गर्दै कार्यवाहक मेयर श्रेष्ठले काठमाडौं महानगरपालिकाले आफ्ना ठाउं–टोलका स्कुलहरुमा पढाउन अभिभावकहरुलाई अनिवार्य गर्न लागेको पनि बताएकी छन्। जसवाट विद्यार्थीहरु १० बजे स्कुल पुग्नका लागि विहान ६ बजेदेखि हतारिनु नपर्ने तथा काठमाडौं महानगरमा स्कुल बसका कारण ट्राफिक जाम पनि न्यून हुने तर्क कार्यवाहक मेयर श्रेष्ठको रहेको छ।

१ किलोमिटर भित्रका स्कुलमा मात्र पढाउने अभिभावकको मनस्थितिमा विकास गराउन अत्यन्त आवश्यक भएको ठहर ३ नंबर प्रदेशका सांसद राजेश शाक्यको पनि रहेको छ।

प्रमुख अतिथिको आसनवाट सांसद शाक्यले स्प्याङ्गल हाई स्कुलले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएकोमा अत्यन्त खुशी लागेको र स्प्याङ्गल हाई स्कुलमा १ किलोमिटर भित्रका विद्यार्थीहरु मात्र अध्ययन गर्ने कुरावाट पनि आफूलाई गर्ब लागेको बताएका छन्। अवको ५ बर्षभित्र ३ नंबर प्रदेशमा आफ्नै ठाउं–टोलका स्कुलमा मात्र आफ्ना छोरा–छोरीलाई पढाउन पाउने अनिवार्य नियम लागू हुने जानकारी पनि सांसद शाक्यले दिएका छन्।

द स्प्याङ्गल हाई स्कुलका प्रिन्सिपल धनप्रसाद सुव्वाको सभापतित्वमा भएको २५ औं अभिभावक दिवसमा विद्यालय सञ्चालक समितिका अध्यक्ष छत्रमणि कटुवाल, प्रकृति क्लवका अध्यक्ष मनोज आलेमगर लगायतले स्प्याङ्गल हाई स्कुलको महत्व र शैक्षिक क्षेत्रमा स्कुलले गरेको योगदानको बारेमा प्रकाश पारेका थिए।

स्कुल प्रागंणमा स्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी पनि गरेका थिए। प्रदर्शनीमा विशेषत स्मार्ट सिटीको अवधारणा तथा यसको आवश्यकता र हरियालीलाई प्रयोगात्मक अभ्यास सहितको प्रदर्शन गरेर देखाएका थिए।

जुन प्रदर्शनीवाट आफूहरु अत्यन्त प्रभावित बनेको कार्यवाहक मेयर हरिप्रभा खड्गी श्रेष्ठ र सांसद राजेश शाक्यले भिजन संसार डटकमलाई प्रतिक्रिया दिएका छन्। विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले देखाएको स्मार्ट सिटीको अवधारणा काठमाडौं महानगरको विकासको लागि उपयोगी तथा नौलो सोच भएको पनि दुवैले बताए।

कार्यक्रममा अभिभावकको तर्फवाट रोहित कार्कीले कमेडी सांगीतिक प्रस्तुति तथा स्प्याङ्गल हाई स्कुलका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशन मिति–२०७५ साल फागुन १९ गते आइतवार ।