काठमाडौं। आज जुन १४ तारिख विश्व रक्तदाता दिवस परेको छ। विश्व रक्तदाताहरुको महान दिनको रुपमा जुन १४ तारिखलाई लिइने गरेको छ। आजको दिन नेपाल लगायत विश्वभरका रक्तदाताहरुले रक्तदान लगायत विविध कार्यक्रम गरेर मनाउने गरेको छ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले वताएका छन्।

रेकर्डेट रक्तदाता कर्माचार्यले विश्व रक्तदाता दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिन आवश्यक भएको र अठारौ बर्षको जन्म उत्सवदेखि रक्तदान गर्न र गराउन उत्प्रेरित गराउन आवश्यक भएको तथा सोही अनुरुप नेपाल स्वयंसेवी रक्तदाता समाजले Start 18 Star Team को अवधारणा नै ल्याइएको जुन युवाहरु माझ अत्यन्त लोकप्रिय बन्दैगएको जानकारी पनि रेकर्डेट रक्तदाता कर्माचार्यले दिएका छन्।

रगत शरिरमा रहेको रातो तरल पदार्थ हो। यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ। यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ। यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ।

मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ। मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ। रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ। मानिस जिवित रहनकालागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ।

सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ। सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने भएकोले यस उमेर समूहका स्वस्थ मानिस सवैले रक्तदान गर्न सकिन्छ।

रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ। एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ।


प्रकाशन मिति–२०७७ साल जेठ ३२ गते आइतवार ।