काठमाडौं। नेपालमा सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित शहरी क्षेत्रका विद्यालयहरु भौतिक रुपमा बन्द गराएर अनलाइन कक्षा संचालन गर्न दिने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन्। ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समावेश गरिएको छैन।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।
मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ।

काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी, भीमदत्त नगर लगायतका उच्च जोखिम रहेका जिल्ला सदरमुकामहरुमा विद्यालय बन्द गरी अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।

प्रकाशन मिति–२०७८ साल बैशाख ६ गते सोमवार ।