काठमाडौँ। काठमाडौँ क्षेत्र नं ६ वाट उम्मेदवार बनेका पूर्व प्रहरी अफिसर सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताएका छन्। आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका खनालले काठमाडौँ क्षेत्र नं ६ का खुला बस्तीमा नमूना समाज निर्माण गरिने बताएका हुन।

“एउटै समाजभित्र विद्यालय, स्वच्छ खानेपानी, खेल मैदान, ज्येष्ठ नागरिक पार्क, पुस्तकालय, प्राविधिक ल्याव, चमेना गृह, पसललगायतको सुविधासम्पन्न समाज निर्माण गर्ने मेरो लक्ष्य छ,”– उनले भने ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गरेर निवृत बनेका खनालले आफूले निर्वाचन जितेमा काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्रको रुपमा विकास गर्ने बताए। खनालले आफू हरेक जनताको सुःख दुःखको साथी बन्न खोजेको उल्लेख गरेका छन्।

काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन्।

काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन्।
प्रकाशन मिति–२०७९ साल कात्तिक १९ गते शनिवार ।