काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा जगत जननी बचत तथा ऋण सहकारी लिमिटेडको नवौं बार्षिक साधारण सभा संपन्न भएको छ।

सहकारीको नवौं बार्षिक उत्सवको अवसरमा प्रथम पटक रक्तदान कार्यक्रम पनि गरिएको छ। कार्यक्रम शनिवार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको हो। सो रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली प्रदान गरेर भएको थियो।

उक्त कार्यक्रममा जम्मा ४२ जना स्वयंसेवी रक्तदाताहरूले स्वतस्फूर्त आफ्नो शरिरको रगत पिडीतको राहत स्वरूप दान गरेका थिए। सो कार्यक्रममा सहभागी स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका संयोजक तथा लेख समितिका संयोजक संघरत्न शाक्यले प्रशंसा–पत्र बितरण गरेका थिए।

साथै उक्त जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवौं बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीको प्रमुख आतिथ्यतामा न्यूरोड बिशाल बजारको सासा बैङ्कटमा सम्पन्न भएको थियोे।

जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मेनका शाक्यको सभापतित्वमा सम्पन्न सोही साधारणसभा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीवाट नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान पत्र प्रदान गरेर सार्वजनिक सम्मान समेत गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल असोज २१ गते आइतवार ।