ललितपुर। नेपाल लिपि गुथि र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामामा पाटन क्याम्पसको सभाकक्षमा आयोजित नेपालको मौलिक लिपी रञ्जना लिपि कार्यशाला गोष्ठी संपन्न भएको छ। गोष्ठीको उदघाटन काठमाडौं प्रदेश नं ३ का प्रदेश सभासद राजेश शाक्यले गरेको हो।

उक्त गोष्ठीमा प्राध्यापक एवम् अन्वेषक काशीनाथ तमोटले रञ्जना लिपिको ऐतिहासिक पक्षलाई उजिल्याउने खालको कार्यपत्र पेश गरेका थिए। उक्त कार्यपत्रलाई इतिहासकार एवम् लिपिका अन्वेशक डा.नयनाथ पौडेलले टिप्पणी गर्ने क्रममा रञ्जना लिपिको उदभव नेपाल भूमिमा हुनुपर्ने तथ्य प्रकाश पारे।

आशा सफु गुथिका पुस्तकालयध्यक्ष एवम् गुथिका प्राज्ञ शरद कसाःले रञ्जना लिपिको आकारका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रलाई सहप्राध्यापक क्यालिग्राफर डा मिलनरत्न शाक्यले टिप्पणी गरेका थिए । त्यसैगरि तेस्रो कार्यपत्र नेपालभाषा केन्द्रिय शिक्षण विभागका प्रमुख सहप्राध्यापक डा ओमकारेश्वर श्रेष्ठले रञ्जना लिपिको परिचयका बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा डा निर्मलमान तुलाधरले टिप्पणी गरेका थिए।

गोष्ठीमा अन्तिम कार्यपत्र नेपालभाषा केन्द्रिय शिक्षण विभागका उपप्राध्यापक राजनलाल जोशीले रञ्जना लिपिको साँस्कृतिक पक्षलाई लिएर कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा डा चुन्दा बज्राचार्यले टिप्पणी गरेका थिए।

कार्यक्रममा बोल्ने क्रममा भाषाविद तथा बामपन्थी नेता मल्ल के सुन्दरले आफू संयुक्त राष्ट संघ जाँदा नेपालले स्वतन्त्र राष्टको रुपमा दर्ता गर्ने क्रममा रञ्जना लिपि समावेश गरेको दस्तावेजको फोटोकपी आफूले लिएर आएको कुरा खुलासा गरेका थिए।

गुथिका अध्यक्ष निरञ्जनरत्न तामाकार र उपाध्यक्ष अनिल स्थापितले गोष्ठीमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम गुथिका सचिव पवित्र कसाःले संचालन गरेका थिए भने गोष्ठी गुथिका कार्यकारिणी सदस्य निर्मल बज्राचार्यले संयोजन गरेका थिए। उक्त गोष्ठीको निचोडलाई गुथिबाट निकट भविष्यमा प्रकाशोन्मुख रञ्जना लिपिको वर्णमालामा समावेश गर्ने जानकारी प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७५ साल असोज २० गते शनिवार ।