काठमाडौ। नेपालमा यही आउने साउन १ गते देखि लागू हुने गरी सर्वसाधारणले उपभोग गर्ने विजुलीको महशुलमा भारी बृद्धि हुने भएको छ। विद्युत महशुल निर्धारण आयोगले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा कम्तिमा ११.२५ प्रतिशत देखि २२.१५ प्रतिशतसम्म महशुल बृद्धि गरेको जनाएको छ।

Electricity 1

प्रत्येक बर्ष जस्तो बार्षिक ५ अर्ब रुपैयाभन्दा बढी घाटामा रहेको विद्युत प्राधिकरणको घाटालाई महशुल बृद्धिवाट समायोजन भएर बार्षिक थप साढे ५ अर्ब रुपैया बराबर आम्दानी हुने पनि आयोगको भनाई रहेको छ। विद्युत प्राधिकरणको कुल विजुलीको २८ प्रतिशतसम्मको चुहावटले बर्सेनी घाटामा गएको हो। महशुल कम भएर नभएको विज्ञहरुको भनाई रहेको छ। चुहावट नियन्त्रण नगरिकन विद्युत प्राधिकरणलाई नाफामा ल्याउन महशुलमा बृद्धि गरिनु उपभोक्ता उपर अन्याय हो भन्ने उपभोक्तावादीहरुको भनाईलाई आयोगले बेवास्ता गरेको देखिएको छ।

आयोगले सबै खाले उपभोक्तासित पहिलो पटक मासिक कम्तीमा ३० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म सेवा शुल्क लिन स्वीकृति दिएको छ । यसअघि प्राधिकरणले सेवा शुल्क लिने गरेको थिएन । न्यूनतम विद्युत् महसुल भने तोकिएको थियो, कुनै उपभोक्ताले विद्युत् खपत नगरेको अवधिको प्राधिकरणले न्यूनतम शुल्क लिने गरेको थियो ।

आयोगले २० युनिट वा त्योभन्दा कम बिजुली खपत गर्ने गरिब उपभोक्ताको बिजुलीको महसुलसमेत घुमाउरो पाराले वृद्धि गरेको छ । यसअघि २० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई न्यूनतम महसुल ८० रुपैयाँ थियो, अर्थात् प्रतियुनिट ४ रुपैयाँ थियो ।

आयोगले २० युनिटसम्म खपत गर्ने उपभोक्ताको मूल्य प्रतियुनिट ३ रुपैयाँ तय गरेको छ । त्यस्ता उपभोक्ताले सेवा शुल्कबापत प्रतिमहिना ३० रुपैयाँ तिनुपर्नेछ अर्थात् २० युनिट खपत गर्ने उपभोक्ताले सेवा शुल्कसहित मासिक ९० रुपैयाँ तिनुपर्नेछ । फलस्वरूप त्यस्ता उपभोक्ताको बिजुलीको महसुल ११.२५ प्रतिशतले वृद्धि भएको छ । कम्युनिस्ट नेतृत्वको सरकारका पालामा गरिब उपभोक्तालाई विद्युत् महसुल घटाएको दाबी गर्दै सेवा शुल्कका नाममा महसुल बढाएको हो।

५ एम्पियर मिटर जडान गरेका र प्रतिमहिना २१ देखि ३० युनिट बिजुली खपत गर्ने उपभोक्ताको बिजुलीको महसुल २० युनिटसम्म ३ र २१ देखि ३० युनिटको ७ रुपैयाँ तोकिएको छ, तर सेवा शुल्कको नाममा यो वर्गका उपभोक्ताको महसुलसमेत समग्रमा बढाइएको छ । यो वर्गका उपभोक्तालाई सेवा शुल्क प्रतिमहिना ५० रुपैयाँ लगाएको छ ।

५ एम्पियर मिटर जडान गरेका र ३१ देखि ५० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई २० युनिटसम्म ३ र ३० युनिटसम्म ७ तथा ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा महसुल तोकिएको छ । यसअघि ३१ देखि ५० युनिटसम्मको बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा थियो । यो वर्गका उपभोक्ताको सेवा शुल्क प्रतिमहिना ७५ रुपैयाँ तोकिएको छ ।

५१ देखि १ सय ५० युनिट बिजुली खपत गर्ने उपभोक्तालाई प्रतिमहिना सेवा शुल्क १ सय रुपैयाँ लगाइएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटसम्मको महसुल १० रुपैयाँ तोकिएको छ ।

१ सय ५१ देखि २ सय ५० प्रतियुनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई प्रतिमहिना १ सय २५ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल १०, १ सय ५१ देखि २ सय ५० युनिटसम्मको महसुल ११ तोकिएको छ ।

२ सय ५१ देखि ४ सय युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई प्रतिमहिना १ सय ५० रुपैयाँ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल १०, १ सय ५१ देखि २ सय ५० युनिटको ११ तथा २ सय ५१ देखि ४ सय युनिटको १२ रुपैयाँ तोकिएको छ ।

४ सयभन्दा बढी युनिट खपत गर्ने ग्राहकका लागि प्रतिमहिना १ सय ७५ रुपैयाँ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल १०, १ सय ५१ देखि २ सय ५० युनिटको ११ तथा २ सय ५१ देखि ४ सय युनिटको १२ तथा ४ सयभन्दा बढी युनिटको १३ रुपैयाँ तोकिएको छ ।

१५ एम्पियरको मिटर राखेका उपभोक्ताका लागि भने सेवा शुल्क र खपतका आधारमा लाग्ने शुल्कको दरसमेत बढी छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क ५० देखि २ सय रुपैयाँ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ४, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल ११, १ सय ५१ देखि २ सय ५० युनिटको १२ तथा २ सय ५१ देखि ४ सय युनिटको १३ तथा ४ सयभन्दा बढी युनिटको १४ रुपैयाँ तोकिएको छ ।

३० एम्पियरको मिटर राखेका उपभोक्ताका लागि समेत सेवा शुल्क र खपतका आधारमा लाग्ने महसुलको दरसमेत वृद्धि गरिएको छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क ७५ देखि २ सय २५ रुपैयाँ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ५, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल ११, १ सय ५१ देखि २ सय ५० युनिटको १२ तथा २ सय ५१ देखि ४ सय युनिटको १३ तथा ४ सयभन्दा बढी युनिटको १४ रुपैयाँ तोकिएको छ।

६० एम्पियरको मिटर राखेका उपभोक्ताका लागिसमेत सेवा शुल्क र खपतका आधारमा लाग्ने महसुलको दरसमेत वृद्धि गरिएको छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क १ सय २५ देखि २ सय ७५ रुपैयाँ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ६, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल ११, १ सय ५१ देखि २ सय ५० युनिटको १२ तथा २ सय ५१ देखि ४ सय युनिटको १३ तथा ४ सयभन्दा बढी युनिटको १४ रुपैयाँ तोकिएको छ।

१० केभीएबाट थ्री फ्रेज विद्युत् उपभोग गर्ने ग्राहकलाई प्रतिमहिना सेवा शुल्क प्रतिमहिना ११ सय रुपैयाँ तोकिएको छ भने ४ सय युनिटसम्म खपत गर्नेलाई विद्युत् महसुल १२ र त्योभन्दा बढी खपत गर्नेलाई १४ रुपैयाँ तोकिएको छ । १० केभीएभन्दा बढीको लाइनबाट थ्री फेज बिजुली उपभोग गर्नेलाई १८ सय रुपैयाँ सेवा शुल्क तोकिएको छ भने ४ सय युनिटसम्म १२ रुपैयाँ ५० तथा त्योभन्दा खपत गर्नेलाई १४ रुपैयाँ ५० पैसा शुल्क तोकिएको छ।

३३ केभीएबाट बिजुली उपभोग गर्ने ग्राहकलाई प्रतिमहिना १० हजार सेवा शुल्क तोकिएको छ । बिजुलीको मूल्य भने खपतअनुसार ११ देखि १३ रुपैयाँ तोकिएको छ । आयोगले प्राधिकरणको सिफारिसमा जडान शुल्क, क्षमता मिटरको क्षमता वृद्धि शुल्क, मर्मतलगायतका सबैजसो शुल्क वृद्धि गरेको छ।

प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।