काठमाडौ। सडकमा व्यक्तिगत स्वार्थ तथा दादागिरी गर्न पाउनु पर्ने माग सहितको सिन्डिकेटको पक्षधर यातायात व्यवसायीको सार्वजनिक यातायात बन्द आज शनिवारवाट फिर्ता लिएको छ। यस विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि उनीहरु पछि हट्न बाँध्य बनेको हो।

आन्दोलनरत यातायात व्यवसायी महासंघले बन्द फिर्ता लिएर वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् ।

सिन्डिकेट हटाउन नहुने माग गर्दै महासंघले शुक्रबार सार्वजनिक यातायात बन्दको घोषणा गरेको थियो । व्यवसायीले यातायात बन्द गरेसँगै सरकार त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो । यातायात व्यवसायी महासंघमा आबद्धलाई पक्राउ गर्नेदेखि रुट खारेजीसम्मको निर्णय सरकारले गरेको थियो। सरकार र यातायात व्यवसायीबीच द्वन्द्व बढिरहेका बेला संघर्षरत यातायात व्यवसायी महासंघले बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता लिएको हो।

महासंघले देशभरका यातायात संघ, संस्था, प्रालिका पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई धरपकड तथा पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै उनीहरुलाई विना शर्त रिहाइ गर्न माग गरेको छ ।
प्रकाशन मिति,२०७५ साल बैशाख २२ गते शनिवार ।