–निर्मल वज्राचार्य

काठमाडौ। ब्लाइन्ड रक्सको आयोजनामा राजधानी काठमाडौंमा ब्लाइन्ड रक्स वाक संपन्न भएको छ। नेपाली बायोपिक चलचित्र ब्लाइन्ड रक्सकी नायिका बेनिशा हमालको प्रमुख आतिथ्यमा ब्लाइन्ड रक्स वाक भएको हो। नायिका हमालले आँखामा पत्ति बाँधेर सेतो छडीको सहायताले हिँडेर शुभारम्भ गरेपछि शनिवार वाक कार्यक्रम भएको हो।

डा. सुरज शाक्यको प्रबन्ध र फिरोज शाक्यको संयोजनमा नेपालमा पहिलो पल्ट यसप्रकारको कार्यक्रम भएको आयोजकहरुको दावी रहेको छ। उक्त कार्यक्रमको मुख्य उद्देश्य दृष्टिविहिनहरुलाई सेतो छडीको सहायताले बाटोमा हिँड्दा कति संघर्ष गर्नु पर्छ र कति समस्याको सामना गर्नु पर्छ भन्ने कुराको अनुभव गर्नु र गराउनु हो। प्रयोगात्मक तरिकाले दृष्टिवानहरुलाई पत्ति बाँधेर सेतो छडी समाएर स्वयम्सेवकको सहयोगमा दृष्टिविहिनसंग नै हिँडाएको थियो।

पदयात्राको शुभारम्भ गर्ने क्रममा ब्लाइन्ड रक्सका अध्यक्ष दृष्टिविहिन सृष्टि केसीले दृष्टिवानहरुलाई आँखामा पत्ति बाँधेर सेतो छडि र स्वयमसेवकको सहायतामा हिँड्न आग्रह गरिन्। तर कोही त्यसरी हिँड्न तत्कालै तयार भएनन् । अरुको त के कुरा स्वयम् म पनि तयार भएको थिइन,जव दृष्टिविहीन सृष्टिले प्लीज डेयर टु वाक विथ ब्लाइन्ड फोल्ड भनेर अपिल गर्ना साथ दृष्टिवानहरुले आँखामा पत्ति बाँध्न थाले। र अति नै व्यस्त हुने सडकहरु वसन्तपुर, ईन्द्रचोक, असन, कमलाक्षी, रानीपोखरी, भोटाहिटी, वीर हस्पिटल, न्यूरोड हँुदै पुनः वसन्तपुरमा यात्रा समापन गरियो।

प्रमुख अतिथि नायिका हमालले सृष्टि केसीको सत्य घटनामा आधारित चलचित्र ब्लाइन्ड रक्स मा सृष्टि नै भएर अभिनय गर्ने काम एकदम चुनौतीपूर्ण रहेको बताए। साथै उक्त रोल गर्नकानिम्ति तीन महिनासम्म दृष्टिविहिन जस्तै भएर अभ्यास गरेको अनुभव सुनाइन्।

बीस जना दृष्टिविहिन र तीस जना दृष्टिवानलाई आँखामा पत्ति बाँधेर प्रत्येकलाई एकएक जना स्वयम्सेवकको सहयोगमा शहर परिक्रमा गराइएको थियो।
प्रकाशन मिति–२०७५ साल असार २३ गते शनिवार ।