सम्पादकीय


बहुदलको राजनीतिमा स्वतन्त्रको खासै अर्थ हुने गर्दैन। बहुमतको अगाडि एकमतले खासै काम गर्न गाह्रो मात्र नभइकन कठिन नै हुने गर्दछ। जसको ज्वलन्त उदाहरण काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतवाट निर्वाचित मेयर बालेन्द्र शाह तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राईलाई भैरहेको कठिनाइवाट देखिएको छ।

चुनावी घोषणा तथा नाराअनुरुप काम गर्न खोज्दा पनि बालेन्द्र र हर्कलाई सहज भैरहेको छैन्। अझ दुवै मेयरका लागि नगरसभा त फलामे चिउरा चपाउनु बराबर हुने गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले लगायतका विभिन्न दलका वडा अध्यक्ष तथा नगर कार्य समिति सदस्यहरुको तिखो प्रहार तथा असहयोगको सामना गर्नुपर्दाको पीडा बालेन्द्र र हर्कलाई वाहेक शायद अरु मेयरहरुलाई नहुन सक्छ।

धरानमा हर्कलाई खानेपानी ल्याउनमा विभिन्न बाधाअर्चन भएजस्तै काठमाडौंमा विगत तीन महिनादेखि फोहरको समस्यालाई हल गर्न नसक्दाको पीडाले दुवैलाई गलाउने प्रयास भएको छ। कुनैपनि दलका मेयर भएको भए, पार्टीगत रुपमा पनि समस्या समाधान गर्ने विभिन्न उपाय हुने भएतापनि स्वतन्त्र केवल स्वतन्त्र अनि एकल मात्र हुने भएको कारण उसको कुरा खासै अरुले नसुन्ने भएको कारण काम गर्न कठिन हुने गरेको हो।

काठमाडौंमा सिर्जित फोहरको समस्यामा पार्टीगत मेयर भएको भए, कुनै न कुनै उपायव्दारा समाधान हुने गर्दथ्यो। विगतमा नेकपा एमालेवाट निर्वाचित विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकामा मेयर हुदापनि फोहरको समस्या बेलाबखत आएतापनि त्यसको समाधान केही दिनमा नै हुने गरेतापनि बालेन्द्र मेयर भएयता तीन महिना पुग्न लाग्दा पनि समस्याको समाधान हुन नसक्नु नै यो प्रमुख कारण हो।

स्थानीय नगर तथा गाउंपालिकाका जनप्रतिनिधि तथा नेताहरुले साथ नदिएपछि अनेक बाधा आउनु स्वभाविक हो। त्यसमाथि, कर्मचारीहरु पनि विभिन्न दल समर्थित हुनेभएवाट पनि स्वतन्त्रलाई दलिय मेयरलाई जस्तो काम गर्न कठिन हुने गर्दछ। बहुदलिय व्यवस्थामा स्वतन्त्र भनेको केवल मुतको न्यानो जस्तो मात्र भएजस्तो आभास गरिन थालेको छ।

जतिसुकै राम्रो काम गर्ने नारा ल्याएपछि दलिय जनप्रतिनिधि तथा नेताहरुको साथ नपाएपछि स्वतन्त्रले काम गर्छु भनेर मात्र पनि गर्न सकिने वातावरण छैन्। उनीहरुको लागि एक मात्र अवको बाटो भनेकै कुनै न कुनै पार्टीमा प्रवेश गरेर उनीहरुकै पिछलगु भएर कार्य गर्नु हो। जुन कार्य उनीहरुलाई जिताउने नेपाली जनतालाई घात गर्नु हो। यो कार्य स्वतन्त्र मेयरहरु बालेन्द्र देखि हर्कसम्मले गर्ला या गर्दैनन ? यो हेर्न वांकी नै छ।
(नामी साप्ताहिकवाट सम्पादकीय साभार)
प्रकाशन मिति–२०७९ साल साउन २८ गते शनिवार ।