काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ। उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित मानसिक अस्पतालमा बुझाउन उनलाई काठमाडौं ल्याइएको हो।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घलेगाउँका माइला विकले ११ घण्टासम्म प्रहरी र जनप्रतिनिधिलाई हैरान पारेका थिए। उनी शनिबार बिहान १० बजे बिजुलीको पोलहुँदै तारमा चढेका थिए। यही कारण त्रिशूली थ्रीए जलविद्युत आयोजनाको उत्पादन ११ घण्टासम्म बन्द गरिएको थियो ।

बिद्युत बन्द हुँदा एक करोड प्राधिकरणलाई घाटा लागेको छ । उनी मानसिकरूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ । दिनभर प्रयास गर्दा पनि प्रहरी र स्थानीय जनप्रतिनिधिले नसकेपछि सेनाले घटनास्थलमा पुगेर बिकलाई ओरालेको थियो ।

प्रकाशन मिति–२०७९ साल जेठ २८ गते शनिवार ।