काठमाडौं। हिमाली जिल्ला सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिन थालेको छ। सुन्दा पनि अनौठौ लाग्ने यो सेवा काठमार्डौमा रहेका लोखिमवासीको लागि काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिन थालेको हो।

 

हरेक महिनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडौबाट सेवा दिँदै आएको त्यहाँको वडा अध्यक्ष भूपाल सिंह राईले बताएका छन्। गत भदौ महिनावाट काठमाडौको चावहिलमा कोठा भाडामा लिएर सेवा दिन थालिएको बताइएको छ। लोखिम हाउसबाट हालसम्म चार पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ। जसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउस काठमाडौँले जनाएको छ ।

वडा कार्यालय र वडाध्यक्ष स्वयंको पहलमा महिनाको अन्तिम दुई दिन वडाका सम्पूर्ण सेवा काठमाडौँबाटै प्रदान गर्ने सो वडा सोलुखुम्बु जिल्लाकै एक मात्र वडा हो । लोखिम हाउसबाट विवाह, जन्म, मृत्यु दर्ता र जग्गाको कागजात मिलाउनेलगायत सेवा लिनेको सङ्ख्या अधिक रहेको वडा अध्यक्ष राईको भनाइ रहेको छ। वडा अध्यक्ष राई सोलुखुम्बु स्थित लोखिमको सेवा काठमाडौंवाट दिन आफ्नै खर्चवाट काठमाडौं आतेजाते गर्ने गर्दैआएका छन्।

प्रकाशन मिति–२०७५ साल मंसीर २८ गते शुक्रवार ।