ललितपुर। नेपालमा आम मेयरहरु सरकारी नंबर प्लेटका सरकारी गाडीमा सर्रर सरकारी शानमा हिंड्ने गरेतापनि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने रातो प्लेटको प्राइभेट नंबरमा नै हिंड्ने गरेका छन्।

सरकारी प्लेटका गाडीमा चढ्ने रहर नभएको कारण २४ बर्ष पुरानो बा ४ च ७८५२ नंबरको टोयोटा गाडी नै चढ्ने गरेको खुलासा मेयर महर्जनले भिजन संसार डटकमसंगको कुराकानीमा गरेका छन्। मेयर महर्जनले नयाँ गाडी किन्नका लागि महानगरपालिकाले १ करोड रकम विनियोजन गरेतापनि आफूले नकिनेको भनेका छन्। नयाँ गाडी किन्ने बजेटमा महानगरपालिकामा आवश्यक दुईवटा सडक पखाल्ने पानी ट्यांकर खरिद गरेको मेयर महर्जनको भनाई रहेको छ।

हाल मेयर महर्जनले चढ्ने गरेको बा ४ च ७८५२ नंबरको टोयोटा गाडी धेरै नै पुरानो गाडी हो। यो गाडी पटक पटक विग्रने गरेको छ। वीच सडकमा कतिपय अवस्थामा विग्रने बेलामा मेयर महर्जन आफूले पनि पटक पटक थेल्ने गरेको पनि बताएका छन्। यस टोयोटा गाडी तत्कालिन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पालामा खरिद गरिएको गाडी हो।

ललितपुर महानगरपालिकाकै गाडी भएतापनि यस गाडीमा सरकारी नंबर प्लेट भने राखिएको छैन्। प्राइभेट नंबर नै राखेर चलाएको अवस्था रहेको छ। सरकारी नंबर प्लेट नराख्नुमा शनिवार तथा विदाको दिन पनि मेयर महर्जनले यही गाडीको प्रयोग गर्ने भएकोले हो। सरकारी प्लेटको नंबर भएको गाडी विदाको दिनमा चलाउन नमिल्ने भएकोले पनि मेयर महर्जनले यस प्राइभेट नंबरको गाडी प्रयोग गर्नमा मज्जा मान्ने गरेको मेयर महर्जनका सुरक्षा गार्ड हिराकाजी कार्कीले भनेका छन्।


प्र्रकाशन मिति–२०७६ साल बैशाख २० गते शुक्रवार ।