काठमाडौं। नेपालले ३७ बर्षपछि घरेलु मैदानमा त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै नेपाल च्याम्पियन बनेको हो। यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो

सोमवार भएको खेलमा नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे। पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो। बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो। बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

सोमवारको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ। पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले सोमवार दुई गोल गर्दै गोलको खडेरी तोडेको हो । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन।

उपाधि जितेको नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ। उपविजेता बनेको बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेको छ। यही महिना आयोजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबल खेल्ने महर्जनले बताएका छन्। उनलाई खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर प्रदान गरेका छन्।
प्रकाशन मिति–२०७७ साल चैत्र १६ गते सोमवार ।