–सुनकुमार अवाल
काठमाडौ। मध्यपुर थिमी नगरपालिका वडा नंबर ४ दथुटोलको स्थानीय वासिन्दा भएर पनि काठमाडौंमा लामो समय शिक्षण गर्ने हेडमास्टरको नाम मुकुन्द प्रसाद श्रेष्ठ हो।

काठमाडौंको लैनचौर स्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयमा अनवरत शिक्षण गर्ने श्रेष्ठले सोही स्कुलमा हेडमास्टर समेत बनेर स्कुलको स्तरोन्नति गर्न कडा मेहनत गरेका थिए। जसको मुक्तकण्ठले त्यस स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले संझ्ने गरेको पाइन्छ।

गत बर्षमात्र तिनै स्कुलका भूतपूर्व विद्यार्थीहरुको तर्फवाट विशेष सम्मान पनि श्रेष्ठले पाएका छन्। श्रेष्ठले पढाएका धेरै विद्यार्थी डाक्टर, इञ्जिनियर, पाइलट, नेता, पत्रकार, राजनीति लगायतका एक से एक पेशामा आवद्ध रहेका छन्।

कहिलेकाही ती विद्यार्थीहरुलाई भेट्दा असाध्यै गौरब लाग्ने गरेको र उनीहरुले पनि मेरो गुरु भनेर संझ्दा र सोही अनुरुपको सम्मान दर्शाउंदा शिक्षक हुनुको गौरबता महशुश हुने गरेको श्रेष्ठले भनेका छन्।

हाल कोटेश्वरको दीपनगरमा स्थायी बसोवास गर्ने श्रेष्ठ मध्यपुर थिमीकै नौलो ज्योति स्कुलको संस्थापक, जन आदर्श क्याम्पसको संस्थापक संचालक समितिको अध्यक्ष बनेर पनि कार्य गरिसकेका छन्।

विशेषत हिजोआज सामाजिक सेवामा क्रियाशील शिक्षा सेवी श्रेष्ठ दीपनगर टोल सुधार समितिको संस्थापक अध्यक्ष, सेवा निवृत समाज दीपनगरको संस्थापक अध्यक्ष, दीप नेवाः पुचःको संस्थापक अध्यक्ष तथा निखिलेश्वर महादेव मन्दिर दीपनगरको सल्लाहकारको रुपमा कार्यरत रहेका छन्।
प्रकाशन मिति–२०७६ साल साउन १० गते शुक्रवार ।