Nepali Congressकाठमाडौं । नेपाली कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले पार्टी नेतृत्व पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै आगामी १३औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नैपर्ने निष्कर्ष निकालेका छन् ।

महाधिवेशनको तिथि नजिकिँदै जाँदा राजधानीमा भेला गरी भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूले सभापति सुशील कोइरालाबाट अब पार्टी चल्नै नसक्ने ठहरसहित परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

Sushil, Sher Bahadur & Ramchandra
भेलामा यस्तो निष्कर्ष निकाल्न प्रस्ताव गर्नेहरूमा नेपाल प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष डा. लक्ष्मी पाठक, नेपाल प्राध्यापक संघका महासचिव जगत तिमिल्सना, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापालगायत रहेका छन् ।

उनीहरूले वर्तमान सभापति कोइरालाले अब नेतृत्व गर्न नहुने अडानसमेत राखेका छन्। सभापति कोइरालाको विपक्षमा माहोल बनाउन आयोजना गरिएको सो भेलामा प्रजातन्त्रवादी इन्जिनियर एसोसियनका अध्यक्ष मुकेश थामी पनि उपस्थित थिए । कोइराला असक्षम भएको निष्कर्षमा उनीसमेत सहमत रहेको सहभागी एक नेताले बताएको राजधानी दैनिकमा खबर छ।
प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।