काठमाडौ। भारतको पश्चिम बंगाल दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ । साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् ।

ilam_district

आमहड्ताल शुरु भएपछि चामल, नुन, दाल, चिनी, चाउचाउ, चिउरा, तेललगायत सबैजसो खाद्यान्नको मूल्य बढेको स्थानीय उपभोक्ता बताउँछन् । ढुवानीको लगानी र भारतीय व्यापारीले बढी मूल्य तिरेर सामान लैजान थालेपछि व्यापारीले मूल्य बढाउँदा स्थानीय उपभोक्ता मारमा परेका हुन् ।

पश्चिम बंगालको आमहडताल शुरु हुनुअघि २५ किलो चामलको मूल्य २ हजार ६ सय रहेकोमा अहिले त्यो मूल्य बढेर रु ३ हजारसम्म पुगेको छ । त्यस्तैगरी, दाल, चिनी, नुनलगायतका खाद्यान्नमा समेत १० प्रतिशतसम्म मूल्य बढेको स्थानीयको गुनासो रहेको छ।

पशुपतिनगरलगायत सीमावर्ती बजारमा खुला सीमाको फाइदा उठाएर व्यापारीले खाद्यान्न ल्याउँदा मूल्य पनि कम थियो । अहिले सबैजसो सामग्री झापाको काँकडभिट्टा नाकाबाट ल्याउनुपर्दा मूल्य बढेको व्यापारी बताउँछन्। सबैजसो खाद्यान्न भारतबाटै आउने भएकाले मूल्य बढेको व्यापारी बताउँछन्।

दार्जिलिङमा भइरहेको आमहडतालका कारण सीमावर्ती बजार पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङसहितका सीमावर्ती बजार यतिबेला ठप्प छन् । भारतीय ग्राहक नआउँदा पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै चल्छन्। तर, भारतको बन्दले उताका पसल ठप्प हुँदा यहाँका खाद्यान्न पसलमा भने भारतीय र स्थानीय उपभोक्ताको भीड बढेको छ।

दार्जिलिङमा भएको आन्दोलनका कारण पशुपतिनगरमा व्यापार समेत घटेको छ। पशुपतिनगर उद्योग वाणिज्य संघका अनुसार दैनिक रु ४० लाखसम्मको कारोबार हुने पशुपतिनगर बजारमा अहिलेको कारोबार शून्य जस्तै छ । खाद्यान्नबाहेक अन्य वस्तुको कारोबार ठप्प रहेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र १३ गते मंगलवार ।