काठमाडौं। काठमाडौंको मखन टोल स्थित मखनबहालमा बेल विवाह संपन्न भएको छ। रत्नकीर्ति महाविहारको आयोजनामा बेल विवाह भएको हो। बेल विवाहमा ३६ जना बालिकाहरुको सामूहिक बेल विवाह भएको छ। सामूहिक बेल विवाहको आयोजना रत्नकीर्ति महाविहारले गरेको हो।

विहीवार र शुक्रबार दुई दिन भएको परम्परागत बेल विवाह कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो। परम्परागत संस्कृतिलाई निरन्तरता दिने क्रममा यो बेल विवाह गरिएको आयोजकले भनेको छ। बेल विवाह विशेषत नेवार बालिकाहरुको गरिने अतुलनिय संस्कृति तथा परम्परा हो।

यो बेल विवाहलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ। विशेषगरी बिजोर वर्षको साइतमा बालिका रजस्वला हुनु अगावै गरिने संस्कार मध्य बेलविवाह महत्वपूर्ण संस्कार हो। भनिन्छ, नेवार समुदायमा केटीको आफ्नो जीवनमा तीन पटकसम्म विवाह हुन्छ। ती हरेक विवाहमा केटीको बुवाले कन्यादान गर्छन्। यिनीहरुमध्ये शुरुको कन्यादानको रुपमा बुवाले सर्वगुण सम्पन्न पुरुषार्थ ज्वाईंको रुपमा सुवर्णकुमारका प्रतिक बेलसँग विवाह गरिदिएर कन्यादान गर्ने गर्दछन्।

बेलसँग विवाह गरिदिने संस्कार भएर यसलाई बेलविवाह भन्ने गरेको हो। बेलसँग गराइने विवाह, केटी परिपक्व भइसकेर वरसँग गरिने विवाह सरह भएपनि यसलाई सामुहिक रुपमा गरिंदै आएको पाइन्छ। सामुहिक रुपमा गरिने बेलविवाहको लागि कम्तिमा पाँच बालिका आवश्यक पर्छन्। तिनीहरु मध्ये मण्डप अगाडि राखिने शुरुको बालिका मुख्य हुन्छ भने अरुलाई क्रमानुसार दोस्रो, तेस्रो गरी राखिन्छ।

मण्डप अगाडि राखिने शुरुका पाँच बालिकासँगै अरुलाई पनि सहभागी गराइ बेल विवाह संस्कार सम्पन्न गरिन्छ। शुरुका दिन बेलविवाह समारोहमा सहभागी गराउने बालिकालाई हात खुट्टाको नङ काटी, नुवाईधुवाई गरेर सरसफाइ गरी समारोहस्थलमा लगिन्छ।

यता बेलविवाह गराउने पुरोहितले कलश राखी गणेश, क्षत्रपाललगायत अरु विभिन्न देवगणलाई प्रतिक मानी पूजापाठ गर्छन् । पूजामा नेवार शब्दमा कुह्मःका ग्वारा, ज्यनाः लप्ते, चाकु, कँय्, हलू, सुखुन्या, ग्वःगु ग्वय्, ताय् आदि सामाग्री राखिएको हुन्छ। बेलविवाहमा सहभागी गराउने बालिकालाई अभिभावकले परम्परागत भोटे ताल्चा समाउन लगाई पानीको धारा छुटाई स्वागत गरी मण्डप अगाडि बसाइन्छ । त्यसपछि क्रमशः अरु सहभागिलाई बसाइन्छ।

त्यसपछिको पूजापाठ रम्स अनुसार नेवार शब्दमा ईका पःकाया कुँ थनेगु अर्थात धुपौरो बाल्ने र धौपति राख्ने गरिन्छ । तीन पटकसम्म कलशमा र एक पटक घरका मूल देवगणको नाममा पूजा गर्न दिइ बालिकालाई टिका लगाइ दहि मुछेको निधारमा लगाइ फूल स्यूरिने गरिन्छ । समारोहका मान्यजनबाट बालिकाको पाउदेखि शिरसम्म पहेंलो रङ्गको धागोले बेर्न लगाइन्छ।

उक्त धागोले एक सय आठ चक्कर लगाइ बेरिएको हुन्छ । त्यसपछि नेवार शब्दमा ज्यनाः लप्ते अर्थात चोखो पातमा विभिन्न पूजा सामाग्री राखी पोको पारी गाँठो बनाइन्छ ।
मान्यजनबाट कलशमा र अरु अभिभावकले विभिन्न नामका प्रतिक मानिएका देवगणलाई पूजा गरी दक्षिणा चढाइ टिका लगाइन्छ। पूजापाठ सकेर कलशको जल, र टिका लगाइ प्रदान ग्रहण गरिन्छ।

त्यसपछि काठबाट बनेको पाथीमा मान्यजनबाट फलफूलका टुक्रा राखी बालिकालाई तीन पटक पूजा गरिन्छ। दियो बाली सकेर चामल भुटेको एक प्रकारको बस्तु जसलाई नेवार शब्दमा ताय् भनिन्छ सो बस्तु छरि शुभकामना दिने चलन छ।

त्यसपछि मान्यजनबाट भोटे ताल्चा समाउन लगाई जलको धारा छुटाइ स्वागत गरी समारोहस्थलमा लगिन्छ । बाटोमा सिलौटामा मास राखी बालिकालाई पिन्न लगाइन्छ । बेलविवाह समारोहमा पूजापाठ सकेर प्रसाद ग्रहण गर्न लगाइ टिका लगाइ दिने चलन छ। थाय्भू अगाडि राखी सुर्य देवतालाई दीप बाली पूजा गरिन्छ। भुईंमा पात बिछ्याइ स्थानिय भाषामा थाय्भू नकी अर्थात खाना खुवाइन्छ । खाना पछि चुथेर दीयो बालेर बालिकाले पूजा गर्न दिइ कलं वाये यंकेगु संस्कार गरिन्छ, सो पश्चात दुस्वःया संस्कार सम्पन्न हुन्छ।

समारोहको भोलिपल्ट बेल विवाहको मुख्य विधि सुरु हुन्छ। बेल विवाह गर्ने बालिकालाई फच्छिं नीसि गरी मण्डप अगाडि बसाइन्छ। त्यसपछि पुनः बालिकालाई सर–सफाइ गराइन्छ जसलाई नेवार शब्दमा नीसि गरेको भन्ने हुन्छ। बालिकालाई टाउकोमा सिन्दुर लगाइ दिई विशेषप्रकारको साडी दिइन्छ जसलाई इहि पर्सी भन्ने गरेको छ।

बालिकालाई साडी लगाइदिनेको अर्थ केटीको रुप दिनु हो । समारोहमा पुरोहितले यज्ञ गरी पूजापाठ सकेर बालिकालाई पनि पूजा गर्न दिइन्छ।

त्यसपछि बुवाले बालिकालाई आफ्नो काखमा राखी अगाडि रहेको बेल र चोखो सुनलाई आफ्ना इष्ट देवगणको रुपमा जल, सिन्दुर, अक्षता, फूलका साथै अरु पूजा सामाग्री राखी पूजा सकेर जौ, तील, कुश हातमा लिइ आमाले जल र दूधको धाराका साथ बेल र चोखो सुन भुईंमा राखिन्छ र बालिकालाई बुवाको काखबाट मण्डप अगाडि बसाइन्छ । यस बिधिलाई कन्यादान भनिन्छ ।
यसरी कन्यादान दिनेबेलामा पूजाथालीमा बेल र चोखो सुन राखी आफ्ना इष्टदेवता मानी पूजा गरेर सो बालिका समेतलाई सदस्य मानी त्यहाँको सम्पूर्ण नीति नियम पालना गर्नेगरी कन्यादान दिइन्छ । कन्यादानपछि बुवाले गक्षअनुसारको दक्षिणा चढाउँछन् ।

पुरोहितले बालिकाको दुबै हातमा बेल समाउन लगाइ डोरीले बाँधी मान्यजनबाट मण्डप परिक्रमा गर्न लगाइ आ–आफ्नो ठाउँमा बसाउछन् । परिक्रमा पछि बालिकाका आफन्तबाट पूजा गरी दान दिन लगाउने चलन छ जुन संस्कारलाई बाह्रा छुकेगु भनिन्छ ।

नेवार समाजमा केटीले गर्नुपर्ने घरयासी कर्म गर्न लगाइन्छ जस्तो ढिकी, चिउरा कुट्ने, नाङ्लो निफन्ने आदि । घरयासी कर्मपछि मान्यजनको हातबाट सम्पूर्ण देवगणलाई पूजाका साथै टिका लगाइ दक्षिणा दिइ होम गरी पुजाविधि सम्पन्न गरिन्छ । त्यसपछि कलशको जल तथा प्रसाद ग्रहण गरी मान्यजनबाट ज्वालान्हाय्क अर्थात एक प्रकारको पूजा गर्न प्रयोग हुने सामान प्रयोग गरी बेलविवाह संस्कार सम्पन्न गरिन्छ ।

प्रकाशन मिति–२०७५ साल मंसीर ८ गते शनिवार ।