काठमाडौं। काठमाडौं महानगरपालिकाको ठूला वडाहरु मध्येको एक ठूलो वडा नंबर ४ मा विपन्न वर्गलाई लकडाउनमा राहत दिने तरीका फरक पाइएको छ।

यस वडामा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट दिने गरेको वडा अध्यक्ष मोहन वहादुर विष्टले बताएका छन्। आइतवारवाट विपन्न वर्गलाई राहत प्रदान गरिएको वडा अध्यक्ष विष्टले भनेका छन्।

आइतवार ५ सय ६० जना र सोमवार ४ सय ६९ जनालाई राहत प्रदान गरिएको जानकारी वडा नंबर ४ का लोकप्रिय वडा सदस्य दिनेश महर्जनले भिजन संसार डटकमलाई दिएका छन्। वडा सदस्य महर्जनका अनुसार, वडाका ६ स्थानमा वडा अध्यक्ष तथा वडा सदस्यहरुको नेतृत्वमा कुपन सिस्टम अनुसार राहत प्रदान गर्ने गरेको छ।

१ हजार ५ सयभन्दा बढी कुपन वितरण गरेकोमा वांकीलाई मंगलवार पनि सोही सिस्टमवाट राहत प्रदान गरिने भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा महानगरको वोर्डवाट पारित ८ लाख बजेट आएको वडा अध्यक्ष विष्टको भनाई रहेको छ।

१० हजारभन्दा बढी जनसंख्या भएको यस ठूलो वडामा त्यति रकम न्यून भएतापनि कोही पनि विपन्न वर्ग भोकै नपरुन भनेर वडाका जनप्रतिनिधिहरुले सक्दो प्रयास गरिरहेको जनाएको छ। कतिपय स्थानमा जनप्रतिनिधिको पकेटवाट पनि राहत दिनुपर्ने हुन्छ। त्यसमा आफूहरुले सक्दो गरिरहेको जानकारी पनि वडा सदस्य महर्जनले भनेका छन्।

प्रकाशन मिति–२०७६ साल चैत २४ गते सोमवार ।