काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको वर्तमान अवस्थामा विश्वभरका स्वास्थ्यकर्मीहरुलाई फुर्सद छैन्। कोरोना संक्रमितहरुको उपचारमा अनि उनीहरुको स्याहारसुसारमा तल्लिन स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको परवाह नगरिकन पनि सेवामा तल्लिन छन्।

अझ कोरोनाका धेरै संक्रमित भएका देशमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई त खानापिनाको समेत फुर्सद छैन्। गर्भवती डाक्टर तथा नर्सलाई पनि विदा छैन्। यसरी अहोरात्र खटिरहने स्वास्थ्यकर्मीहरुमा बेलायतको नर्थवीक पार्क हस्पिटलमा कार्यरत नेपाली नर्स तुलसा जोशीलाई पनि पटक्कै फुर्सद छैन्। पाँच महिनाको गर्भवती तुलसा फुर्सदमा बस्नुपर्ने र आफ्नो बढी केयर गर्नुपर्नेमा बेलायतमा कोरोना संक्रमित असंख्य विरामीहरुको केयर गर्नमा व्यस्त बनिरहेकी छन्।

चार बर्षअघि मात्र नेपालवाट बेलायत गएकी तुलसा त्यहाँको रजिष्टर्ड नर्स हुन। काठमाडौं बानेश्वरकी तुलसाले नेपाल छँदा वीर अस्पताल अन्तर्गतको ट्रमा सेन्टर र मध्यपुर थिमि नगरपालिका स्थित मध्यपुर अस्पतालमा काम गरेकी थिइन्।

आफू कार्यरत रहेको बेलायतको नर्थवीक पार्क हस्पिटलमा केही हप्ता अघिसम्म जाँदा अनुहारमा हाँसो लिएर जाने गरेकी उनी आफू बिरामीसँग कुरा गर्थेँ,उनीहरुको पीडासँगै बसेर कम गर्न कोशिस गर्थेँ भनेकी छन्। तर अहिले बिरामीले नै नचिन्ने रुपमा बिरामी माझ जानुपर्छ र न बिरामीसँग धेरैबेर बस्न पाइन्छ न उनीहरुसँग बोल्न नै पाइन्छ भनेर पीडा ओकल्ने उनी आफूलाई विरामीले नचिन्नुमा विरामीमाझ जाँदा पीपीई लगाएर जानुपरेको हो भन्छिन्।

कोरोना संक्रमित विरामीहरुलाई आफूहरुले विशेष स्याहार गरेर औषधि खुवाउने ड्युटी नै रहेको तुलसाले भनेकी छन्। अझ दीर्घ रोगीलाई उच्च निगरानीमा राख्नुपर्ने तथा दिनको कम्तिमा ६ जना कोरोनाका बिरामीको हेरचाह गर्नुपर्ने आफ्नो ड्युटी रहेको तुलसाको भनाई छ। साढे १२ घण्टा ड्युटीमा खट्दैआएकी गर्भवतीको समयमा पनि आफू सुरक्षित भई आत्मविश्वास बढाई बिरामीको कक्ष जाने गरेको बताएकी छन्।

तुलसा भन्छिन्–“म ५ महिनाकी गर्भवती हुँ ! पीपीई लगाउदै गर्दा म सोच्ने गर्छु मेरो अहिलेको प्राथमिकता के हो ? म अहिले ५ महिनाकी गर्भवती छु अहिले के जरुरी हो जस्ता अनेकौँ प्रश्नले घेर्ने गर्छ । तर, म त्यही बिरामी छटपटिरहेको, आफन्तले भेट्न नपाउँदाको पीडालाई देख्छु र सम्झन्छु–मेरो कर्तव्य बिरामीको सेवा गर्नु नै हो। यतिबेला आफू सुरक्षित भएर बिरामीको सेवा गर्नु नै आफ्नो धर्म हो र अरु स्वास्थ्यकर्मीले पनि यो कुरालाई मनन गरिरहनु भएको छ। बिरामीलाई हेरेर पीपीई खोल्ने बेला शरीरभरी पसिना नै पसिना हुन्छ। पीपीइ लगाउन र लगाइसकेपछि खोल्दा हुने सानो गल्तिले पनि संक्रमण हुने सम्भावना उच्च हुने भएकाले हामीले यसमा विशेष ध्यान दिनुपर्छ। मास्क खोल्दा अनुहारमा गहिरो दाग बस्छ। तर, यो दागलाई बिरामीको सम्झनाले मेटिदिन्छ।”

तुलसाले अगाडि भनेकी छन्–“आफन्तले भेट्न पाउँदैनन्, बिरामी न्याउरिन्छन् ! यसअघि म स्ट्रोक युनिटमा काम गर्थेँ । अहिले अस्पतालहरुमा अत्यावश्यक अवस्थामा बाहेक अरु रोगका बिरामीहरु आउँदैनन् । कोरोनाका बिरामीले बेडहरु भरिन्छन् । बिरामीलाई धेरै गाहो भयो भने मात्र विशेष उपचारका लागि अर्को वार्डमा सारिन्छ । आफन्तले बिरामी भेट्न पाउँदैनन्, मृत्यु भइहालेमा छुन पाउँदैनन् त्यो समय एकदमै नराम्रो लाग्छ।
नेपालको याद आउँछ, पीर लाग्छ । यो रोग विश्वकै लागि नयाँ छ। उमेर, वर्ग, समुदायलाई हेर्दैन । त्यसैले अरु बेलामा जस्तै आत्मबल बढाएमा समयमा नै निको हुन्छ । मेरो श्रीमानलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षण गरिएकोमा नेगेटिभ आयो । हामी कत्ति पनि आत्तिएनौ आइसोलेसनमा छुट्टै बस्यौ। नेपालमा पनि क्वारेन्टाइन, आइसोलेसनलाई विशेष जोड दिनुपर्छ। नागरिकले पनि बुझ्न जरुरी छ । आफूलाई लक्षणहरु देखिए लुकाउन हुँदैन। सरकारले अस्थायी कोरोना अस्पतालको निर्माण गर्नुपर्छ। पीपीइको पर्याप्त व्यवस्था गर्नुपर्छ।अक्सिजन भेन्टिलेटर निकै महत्वपूर्ण छ यसको व्यवस्था गरिनुपर्छ। सकेसम्म अन्य बिरामी र कोरोना बिरामी एकै अस्पतालमा राख्नुहुँदैन।”
(रुना शर्माको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल बैशाख १९ गते शुक्रवार ।