काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ।

राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस बनाएर संसारभर फैलाएको आरोप लगाइरहेका बेला नेशनल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले मानव निर्मित नभएको जनाएको हो।

यद्यपि, उक्त भाइरस जनावरको सम्पर्क वा प्रयोगशाला दुर्घटना केबाट शुरु भएको भन्नेबारे निकायहरूले हेरिरहेको जनाइएको छ। डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सको कार्यालयले कोभिड–१९ को उत्पत्ति प्राकृतिक हो भन्नेमा वैज्ञानिकमा सहमति रहेको जनाएको हो।

राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको भनेका थिए। चीनले भने ट्रम्पको आरोपको खण्डन गर्दै आएको छ।

बिहीवार ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले चीनले नै भाइरस फैलाएको जिकीर गर्दै विश्व स्वास्थ्य संगठन चीनको जनसम्पर्क निकायजस्तो भएकोमा उनीहरुलाई लाज लाग्नुपर्ने टिप्पणी गरेका थिए। चीनले गल्तीले वा कसैले नियोजित उद्देश्यका साथ यो बनाएको हुन सक्ने उनको भनाइ थियो।

चीनको वुहान शहरमा सबैभन्दा पहिला देखिएको भाइरसबाट संसारका ३३ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
(बीबीसीको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल बैशाख १९ गते शुक्रवार ।