काठमाडौं। नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले रूपन्देही र बाँकेमा एक–एक जना सङ्क्रमित भेटिएको शुक्रवार अपराह्ण जनाएको छ। यससँगै नेपालमा कोभिड–१९ भएका व्यक्तिको सङ्ख्या ५९ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रूपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषमा कोभिड–१९ पुष्टि भएको हो। उनीहरू दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्।

नेपालमा अहिले २४,९०७ जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा १२,१६३ जना भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए। सबैभन्दा कम वाग्मती प्रदेशमा ७०८ जना छन्।

सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं १ मा ३१ जना र प्रदेश नं २ मा आठ जना छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा पाँच सहित ९४ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ। स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,५०० भन्दा बढी परीक्षण गरिएको जनाएको छ। त्यसैगरी आरडीटी विधिबाट झन्डै ४७,८०० वटा परीक्षण गरिएको तथ्याङ्कले देखाउँछ।
प्रकाशन मिति–२०७७ साल बैशाख १९ गते शुक्रवार ।