काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट मुक्त नगरको रुपमा गोकर्णेश्वर नगरपालिका देखिएको छ। गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाभित्र बसोवास गर्ने गत चैत ४ गतेसम्म विदेशवाट आएका १३० जनाको Rapid Test गराउंदा सवैको रिपोर्ट नेगेटिभ आएको खुलासा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालले भिजन संसार डटकमसंगको विशेष कुराकानीमा गरेकी छन्।

उपमेयर शान्ति नेपालले गोकर्णेश्वर नगरपालिका नगरवासीको जनस्वास्थ्यमा अत्यन्त संवेदनशील बनेको तथा नगरमा कहीकतै कुनै संक्रमणको आभांस मात्र भएपनि तुरुन्तै निराकरण गर्न नगरपालिका तयारी अवस्थामा रहेको बताएकी छन्। नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाहरुको लागि विशेष स्याहारको लागि हेल्पडेस्क नै खडा गरेको तथा अशक्त ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गगता भएका व्यक्तिहरुलाई पहिलो पंक्तिमा राखेर स्वास्थ्य सेवा तथा राहत दिने कार्य भएको जानकारी पनि उपमेयर नेपालले दिएकी छन्।

नगरभित्र आंकडाअनुसार ४९ जना गर्भवती महिला भएको तथ्याङ्क आफूहरुसंग भएको र जारी लकडाउनमा उनीहरुलाई कुनैपनि समस्या नहोस् भने घर–घरमा गएर नियमित स्वास्थ्य जाँच गराउने कार्य भैरहेको उपमेयर नेपालको भनाई छ। त्यस्तै, अति अशक्त १२ जना ज्येष्ठ नागरिकको लिष्ट पनि आएको छ। उनीहरुको लागि पनि राहत दिने व्यवस्था भैसकेको जनाउंदै नगरपालिकाले सवैभन्दा पहिला नगरभित्र रहेका अपाङ्गता भएकाहरुलाई राहत प्रदान गरेको उपमेयर नेपालको जिकिर रहेको छ।

आउन सक्नेलाई तोकिएको स्थानवाट र नसक्नेलाई घर–घरमा नै लगिदिने व्यवस्था पनि गरिएको जानकारी पनि उपमेयर नेपालले दिएकी छन्। गोकर्णेश्वर नगरपालिकाले लिएको आँकडा अनुसार, गोकर्णेश्वर नगरपालिकामा ज्याला–मजदुरी गर्ने विपन्न वर्गको संख्या २२ हजारको हाराहारीमा रहेको छ। पहिलो चरणमा व्यवस्थित कुपन सिस्टमवाट १५ हजारलाई राहत वितरण गरिसकेको जानकारी पनि उपमेयर नेपालले दिएकी छन्।

त्यसपछि, नगरपालिका तथा स्थानिय समाजसेवी व्यक्ति–विशेष र विभिन्न संघ–संस्थाको अगुवाईमा नगरपालिकाका सवै वडाहरुमा दैनिक दुई छाक निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको कारण राहत वितरण गर्ने कार्य बन्द गरिएको छ। लकडाउन अवधिभर दैनिक दुई छाक सवै वडामा खाना खुवाउने व्यवस्था भएयता अत्यन्त सहज र सरल भएको दावी पनि उपमेयर नेपालको रहेको छ।

उपमेयर नेपालका अनुसार, नगरमा लकडाउन यता जे–जति खर्चको व्यवस्था नगरपालिकाको आफ्नै स्रोतवाट गरिएको छ। र यसमा केन्द्र सरकारवाट १५ लाख रकम वाहेक केही नआएको पनि खुलासा उपमेयर नेपालले गरेकी छन्।

नेपालमा लकडाउन भएको आज मिति २०७७ साल बैशाख २० गतेवाट चालिस दिन पुगिसकेको छ। यस अवधिमा ज्याला–मजदुरी गर्नेहरुको मात्र होइन, सामान्य व्यवसाय गरेर गुजारा गर्नेहरुको व्यवसाय चौपट बनेको छ। सामान्य जागिर गर्नेहरुको रोजगारी गुमेको छ। घरबहालको रकमवाट गुजारा गर्नेहरुको आय ठप्प बनेको छ।

प्राय मध्यम वर्गका नगरवासीहरुलाई विपन्न वर्गलाई जस्तै निक्कै समस्या हुन थालेको छ। मध्यम वर्ग गिरेर राहतको लागि हात पनि थाप्न नसक्ने र शानका साथ माथि उक्लेर संपन्नले जस्तै ठाँट पनि गर्न नसक्ने मझधारको जिन्दगी वाँच्ने मध्यम वर्गको वर्तमान अवस्थालाई पनि नगरपालिकाले संवोधन गर्ने भएको छ।

मध्यम वर्गको विषयमा हाल नगरपालिकामा छलफल भैरहेको र बैशाख २५ गतेपछि पनि लकडाउनको अवधि लम्बिएमा उनीहरुको लागि पनि राहत कसरी वितरण गर्ने भन्ने संवन्धमा कुरा भैरहेको जानकारी पनि उपमेयर नेपालले भिजन संसार डटकमसंगको विशेष कुराकानीमा बताएकी छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।