ललितपुर। काठमाडौं पछिको ठूलो महानगरपालिका ललितपुर महानगरपालिकामा रहेका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि घर–घरै पुगेर राहत दिने कार्य भएको छ।

कोरोना संक्रमणको कारण जारी लकडाउनमा अपाङ्गता भएका व्यक्तिहरुलाई अझ धेरै असहजता भएको छ। त्यसलाई ललितपुर महानगरपालिकाले घर–घरमा राहत लगेर दिने व्यवस्था गरेको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले बताएकी छन्।

उपमेयर सत्यालका अनुसार, हालसम्म ललितपुर महानगरपालिकामा रहेका पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई दुई चरण गरेर घर–घरै पुगेर राहत वितरण गर्ने कार्य भएको छ। पहिलो चरणमा ६१ जना र दोश्रो चरणमा २५ जनालाई राहत वितरण गरिएको उपमेयर सत्यालले भिजन संसार डटकमसंग विशेष कुराकानीका क्रममा बताएकी छन्।

यस कार्यमा इन्डिपेन्डिङ लिभिङ सेन्टर ललितपुर र फेज नेपालको सहयोग तथा अपाङ अधिकारकर्मी भोजराज श्रेष्ठ, कृष्ण गौतम लगायतको विशेष पहल रहेको जानकारी पनि उपमेयर सत्यालले दिएकी छन्।

अपाङ्गता भएका व्यक्तिरुलाई जसरी राहत सहयोग गर्ने कार्य ललितपुर महानगरपालिकाले गरिरहेजस्तै विपन्न वर्गलाई दुई चरण गरेर राहत दिइसकेको तथा प्राय सवै वडाहरुमा सामूहिक भोजन गराउने कार्य निरन्तर गरिरहेको पनि उपमेयर सत्यालले भनेकी छन्।

जारी लकडाउन लम्बिएयता विपन्न वर्गलाई जस्तै चर्को रुपमा समस्या मध्यम वर्गलाई पनि भैरहेको तथ्यलाई आत्मसात गरेर महानगरपालिकाले मध्यम वर्गलाई राहत दिने विषयमा आफूले छलफलमा लाने र कार्यपालिकाको बैठकवाट निर्णय गराउने पक्षमा आफू रहेको मेयर सत्यालको भनाई छ। उपमेयर सत्याल मध्यम वर्गलाई राहत दिन अत्यन्त आवश्यक भैसकेको स्वीकार गर्छिन्। यस संवन्धमा चाँडै नै निर्णय हुने पनि उपमेयर सत्यालले भनेकी छन्।

अर्कोतर्फ, कोरोनाभाइरस संक्रमणको आशंकामा ३३३ जनाको र्यापिड टेष्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको कारण ललितपुर महानगरपालिका कोरोनामुक्त महानगरपालिका भएको उपमेयर सत्यालको जिकिर रहेको छ।

लकडाउन हुनुअघि र पछि ललितपुर महानगर छाडेर आफ्नो गाउँठाउँ जानेहरु फर्केर आउने क्रम शुरु भएकोले उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर मात्र महानगरमा भित्राउने निर्णय भएको बताउंदै उपमेयर सत्यालले कोरोनावाट मुक्त हुन र हुनदिन जो जहाँ छन्–त्यही सुरक्षित रुपमा बसेमा कोरोनाको महामारी नफैलिइने सुझाव दिएकी छन्। लकडाउनलाई पनि विशेष महत्व दिएर पालना गर्न र गराउन पनि अनुरोध गरेकी छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख २४ गते बुधवार ।