काठमाडौं। नेपालको ऐतिहासिक महत्वको इतिहास वोकेको कीर्तिपुर नगरपालिकामा संघीय मन्त्रीले अवलोकन भ्रमण गरेका छन्। शुक्रवार आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्गले कीर्तिपुर नगरपालिकामा अवलोकन भ्रमण गरेका हुन।

मन्त्री नेम्वाङ्गलाई कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमामा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उप–मेयर सरस्वती खड्का, पूर्व राज्यमन्त्री दीलिप महर्जनलगायतले स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा मेयर महर्जनले सिंह दरवार (संघीय सरकार) र हेटौंडा (प्रदेश सरकार)ले कीर्तिपुरलाई हेर्ने दृष्टिकोण टाढा रहेकोले संघीय मन्त्रीले यसलाई नजिक बनाई कीर्तिपुरको विकासमा सहयोग गर्न आग्रह गरेका थिए। साथै कीर्तिपुरमा बन्न लागेको स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) DPR को अवधारणा पत्र मन्त्री नेम्वाङ्गलाई हस्तान्तरण गरेका थिए।

लकडाउनको समयलाई सदुपयोग गरी काठमाडौंका अधिंकाश सडक निर्माण गरेर रंग रोगन समेत गराएर प्रशंसा पाएका मन्त्रीले हालको समयमा पनि प्राय विदाको दिन पारी शुक्रवार र शनिवार स्थानीय स्तरमा भैरहेको भौतिक निर्माणको निरीक्षण गर्ने योजना बनाएको र यसको शुरुवाट कीर्तिपुरबाट गरेको वताएका छन्।

कार्यक्रममा कीर्तिपुरलाई सरकारले सहयोग गर्ने वताउंदै स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) बनाउनको लागि अत्यावश्यक DPR तयार गरीसकेकोले यो नगरपालिका अरु भन्दा एक कदम अघि बढेको भन्दै प्रशंसा समेत व्यक्त गरेका छन्।

मन्त्री नेम्वाङ्ग कीर्तिपुर नगरपालिका भवन, अमल्सिबाट नगाउँ हुँदै चम्पादेवीमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको संस्थापक महासचिव क.पुष्पलालको प्रतिमा रहेको पुष्पलाल पार्क पुगी फूलगुच्छा चढाएका थिए।

यस बीच बाटोमा परेको वडा नंवर ९ नगाउँमा बनाइरहेको रिटेलिङ्ग वाल तथा ढल निकासको योजनाको स्थलगत निरीक्षण गरेका थिए। पुष्पलाल पार्क, चम्पादेवीबाट फर्की वडा नंवर ३ को धःपा हुँदै दीखु पुगेका थिए। दीखुमा गत २०७६ साल पुष १२ गते आफैले शिलान्यास गरेको कीर्तिपुर –चन्द्रागिरि जोड्ने मितेरी पुलको निरीक्षण समेत गरेका थिए।

सो पुल २०७७ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने योजना रहेको भए तापनि लकडाउनका कारण सो योजना पूरा हुन सकेको छैन। मन्त्री नेम्वाङ्गलाई कीर्तिपुरको सबभन्दा उचाइमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल क्वाःच्व (उमा महेश्वर मन्दिर) को पनि भ्रमण गराइएको थियो ।

वडा नंवर २ मा रहेको उक्त स्थानमा स्थानीयले टिका लगाई स्वागत गरेका थिए। सो स्थानबाट काठमाडौंको रमणीय दृष्य अवलोकन गर्नुका साथै ऐतिहासिक गं (घण्टा) वजाएका थिए।
तात्कालिन कीर्तिपुर राज्यको लाय्कू (दरवार स्क्वायर) अवलोकन पश्चात वडा नंबर १ कार्यालयमा पुगेर समापन गरिएको थियो।

समापन कार्यक्रममा उपमेयर सरस्वती खड्काले धन्यवाद् दिएकी थिइन् भने मेयर रमेश महर्जनले मन्त्री नेम्वाङ्गलाई मायाको चिनो (कीर्तिपुरको आस्थाको केन्द्र, बाघ भैरव मन्दिरको फोटो) प्रदान गरेका थिए। कीर्तिपुर नगरपालिका निरीक्षण भ्रमणमा मन्त्रीका साथमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, विना श्रेष्ठलगायत सम्मिलित वनेका थिए।

प्रकाशन मिति–२०७७ साल साउन ३ गते शनिवार ।