काठमाडौं। विश्वको अग्लो शिखर सगरमाथालाई नेपाल र चीन दुवैतिरवाट सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल नेपाली महिला पत्रकार कल्पना महर्जन पूर्वी नेपालको इलाम नगरपालिकाको सदभावना दूत नियुक्त बनेकी छन्। विश्व कीर्तिमानी पत्रकार महर्जनलाई इलाम नगरपालिकाले सदभावना पर्यटन दूतको रुपमा नियुक्त गरेको हो।

इलाम नगरपालिकाका मेयर महेश बस्नेत तथा उपमेयर सुशीला नेम्वाङको रोहवरमा यस विषयमा कीर्तिमानी पत्रकार महर्जन र इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले हस्ताक्षर गरेका छन्। महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो। महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन् ।

इलाम नगरपालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसंग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाई ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

विश्व कीर्तिमानी पत्रकार महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन्। पत्रकारितामा क्रियाशील महर्जन दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन।
प्रकाशन मिति–२०७८ साल फागुन १३ गते शुक्रवार ।