काठमाडौं। खाडी मुलुक कुवेतमा विभिन्न कसुरमा माफी पाएका नेपाली महिलाहरु नेपाल फर्किएका छन्। त्यहाँ माफी पाएका ३०० जना नेपाली महिलाहरु बिहीबार नेपाल फर्किएका हुन।

त्यसरी फर्केका नेपाली महिलाहरुलाई नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्‍याइने छ भने केहीलाई काठमाडौंकै ‘क्वारेन्टिन’मा राखिने भएको छ।

कुवेतमा अनधिकृतरुपमा रहेका महिलाहरुलाई कुवेत सरकारले आममाफी दिएपछि बिहीबार ३०० महिला स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उनीहरुको आ–आफ्ना जिल्लाअनुसार तय गरिएको साझा यातायातको गाडीमा चढाइएको थियो।

यसअघि, युएईबाट उद्धार गरिएकाहरुका लागि सेनाको गाडीमा होल्डिङ सेन्टर पुर्‍याइएको थियो। अधिकांश महिलाहरु कुवेतमा अरुको घरमा सहयोगीको रुपमा काम गर्दै आएका महिलाहरु भएको समाचार स्रोतको भनाई छ। बिहीबार फर्केका अधिकांशको ‘आरडीटी’ र केहीको ‘पीसीआर’ परीक्षण गरिएको थियो। सबैको ‘रिपोर्ट नेगेटिभ’ आएपछिमात्रै उनीहरुलाई नेपाल ल्याइएको हो।

विदेशमा रोजगारी गुमाएर अलपत्र परेपछि नेपाल सरकारसँग हारगुहार गर्दा–गर्दा बल्ल स्वदेश फर्कन पाएकोमा सबै खुशी देखिएपनि केहीलाई भने कर्मथलो नै ठिक लागेको छ। कुवेतबाट उद्धार गरी ल्याइएकाहरुलाई होल्डिङ एरियामा सामाजिक दूरी कायम गरी चेकजाँचपछि उनीहरुको गृह जिल्लामा पठाउने व्यवस्था मिलाइएको छ।


प्रकाशन मिति–२०७७ साल जेठ २९ गते विहीवार ।