London Attack

काठमाडौ। बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ ।वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन्।

मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण रहेका छन् । प्रहरीको गोली लागेर एक आक्रमणकारी पनि मारिएको बीबीसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। घटना विवरण अनुसार, कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर पुलमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कूले आक्रमण गरेका थिए।

त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । घाइते हुनेमा तीन जना प्रहरी अधिकारी रहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको परिचय खुलाइएको छैन ।

प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गर्दै राजधानीको मूख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्र्याउने उद्देश्यले भएको र त्यसलाई कहिल्यै सफल हुन नदिने बताएका छन् । लण्डनसहितका शहरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने आतंककारीविरुद्ध कारवाही अभियान चलिरहेको छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र १० गते विहीवार ।