काठमाडौ। कुनैबेला नेपाली चलचित्रको सधैजसो कुम्भमेला लाग्ने बालाजुस्थित नेपाल चलचित्र विकास कंपनी अव इतिहास बन्ने तर्खरमा पुगेको छ। आउने आइतवारवाट बालाजु औद्योगिक क्षेत्रभित्रको २८ रोपनी जग्गामा फैलिएको कुनैबेलाको शाही नेपाल चलचित्र संस्थान र पछि नेपाल चलचित्र विकास कंपनीमा परिणत भएको नेपाली चलचित्र विकास कंपनीको अस्तित्व सदाको लागि अन्त हुने पक्का भएको छ।
बालाजु औद्योगिक क्षेत्रले चलचित्र विकास कंपनीले चर्चेको सवै स्थान छाड्न भनिसकेको छ। कंपनीको मूल भवनमा केही परिवारको बसोबास बाहेक त्यहाँ कुनै चहल–पहल छैन्। कंपनीको मातहतमा रहेको फिल्म शुटिङ्ग स्टुडियो राम्रो हालतमा भएको र त्यस स्टुडियोवाट दैनिक १० हजारको दरले आम्दानी भैरहेको भएतापनि त्यो भवन पनि भत्किने या कसैको नीजि सम्पत्ति बन्ने निश्चित भएको छ।
नेपाली चलचित्रको ४६ बर्षको इतिहास बोकेको चलचित्र विकास कंपनी समयअनुसार चल्न नसक्दा धराशयी बन्न पुगेको घामजस्तै छर्लङ्ग हुन पुगेको छ। रिल–नेगेटिभ प्रणालीव्दारा चलचित्र बन्ने पचासको दशकको समयसम्म अत्यन्त भ्याइँ–नभ्याइँ बन्ने गरेको चलचित्र विकास कंपनी सेलुलाइड युगको अन्तपछि नै ओरालो लागेको गुनासो सोही कंपनीमा विगत २२ बर्षदेखि निरन्तर काम गर्दैआएका नासु सरहका कर्मचारी रोम भट्टराईको रहेको छ।
चलचित्रको डिजिटल युग प्रारम्भ भैसक्दा र प्राय सवै नेपाली चलचित्र डिजिटलमा गैसक्दा पनि चलचित्र विकास कंपनी उही पुरानै सेलुलाइड प्रणालीमा नै चुपचाप बसेको कारण नयाँ युग अनुसारका नयाँ चलचित्रका कुनै काम हुन नसक्दा नराम्रोसँग कंपनी लखतरान परेको नासु भट्टराईको कथन रहेको छ। यस कंपनीलाई जोगाउन भन्दा कंपनी हाँक्नेहरु मौन बसिदिदा कंपनी धरासयी बनेको यथार्थताले सवै नेपाली चलचित्रकर्मीहरुको त्यहाँ पुग्दा मन कटक्क दुःख्ने गरेको छ।
नेपाली धार्मिक चलचित्र श्रीस्वस्थानीको शुटिङ्ग प्रारम्भ गरेर संचालनमा आएको एकमात्र सुविधासंपन्न कंपनीकै मातहतको फिल्म शुटिङ्ग स्टुडियोमा पछिल्लो निर्माणको नयाँ चलचित्र तिमीसँग नै उक्त स्टुडियोमा छायाँकन गर्ने अन्तिम चलचित्र बन्न पुगेको छ। शिशिर राणाव्दारा लिखित, निर्देशित तथा निर्मित चलचित्र तिमीसँगको एक गीतको दृश्यको छायाँकन विहीवार भैरहेको देखियो। पोखरा पारिको रमाइलो पर्यटकीय स्थल घान्द्रुकको पृष्ठभूमिमा चलचित्र तिमीसँगको एक गीतको छायाँकन भैरहेको थियो।
![](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Timi-Sanga-1.jpg)
जसमा पुरानी नायिका करिश्मा मानन्धर देखि नयाँ नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी राणा तथा दुई नयाँ नायकहरु नासिर हुसेन र आकाश श्रेष्ठकोसाथमा निर्माता शिशीर राणा आफैपनि सेटमा देखिएका थिए। सोही चलचित्रको शुटिङ्ग सेटमा नेपाली चलचित्रको जिउंदो जाग्दो धरोहरु चलचित्रकर्मी जुंगे भट्टराई पनि भेटिएको थियो।
![Mr. Junge Bhattarai](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Junge-Bhattarai-2.jpg)
जुंगे भट्टराईको भेषभूषा तथा कला निर्देशन भएको चलचित्र श्रीस्वस्थानीको छायाँकन भएर फिल्म स्टुडियोको शुभारम्भ भएको थियो। र अव जुंगे भट्टराईकै भेषभूषा डाइरेक्सन र कला निर्देशन रहेको चलचित्र तिमीसँगको छायाँकन संपन्न भएको लगतै उक्त फिल्म स्टुडियोको अन्त गरिने खवरवाट जुंगे भट्टराई निक्कै मर्माहत भएको पाइयो।
![Junge Bhattarai with Shishir Rana](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Junge-Bhattarai-with-Sishir-RAna.jpg)
चलचित्र तिमीसँगैका निर्माता तथा निर्देशक शिशिर राणा पनि मन अत्यन्त अमिलो बनाउंदै थिए। कंपनी परिसरभित्र विभिन्न व्यक्ति–विशेषका कंपनीका भवनहरु निर्माण धमाधम हुन थालेको देख्दा चलचित्रकर्मीहरुको मन त्यसै त्यसै पनि अमिलो हुने गरेको प्रतिक्रिया चलचित्र चाँडै आऊ हैका निर्माता डेविड श्रेष्ठले दिएका छन्।
![Devid Shrestha with Junge Bhattarai](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Junge-Bhattarai-3.jpg)
निर्माता श्रेष्ठले नेपाली चलचित्रको इतिहास चलचित्र विकास कंपनीलाई जोगाउन कसैले पहल नगरेकोमा आफूलाई अत्यन्त दुःख लागेको भनेका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख १५ गते शुक्रबार ।