काठमाडौ। कमेडी फिल्मलाई नेपाली चलचित्रका दर्शहरुले अत्यन्त रुचाइरहेको बर्तमान अवस्थामा पछिल्लो नयाँ चलचित्र फिर्के पनि थपिएको छ। ईकु तथा इकु ब्याँक अगेन जस्ता चर्चित कमेडी चलचित्र निर्माण गरिसकेका सुलेमान शंकरको विशेष प्रस्तुति तथा निर्माण रहेको चलचित्र फिर्केको फस्ट–लुक तथा ट्रेलर सार्वजनिक भएको छ।
![](http://www.visionsansar.com/wp-content/uploads/2017/11/Rabi-Dangol-Beman-in-Firke.jpg)
बुधवार काठमाडौको राइजिङ मलमा आयोजित कार्यक्रममा फस्ट–लुक तथा ट्रेलर सार्वजनिक भएको हो। नेपाली हाँस्य–व्यंग्य क्षेत्रमा बेमान उपनामवाट अत्यन्त चर्चित हांस्य–अभिनेता रवि डंगोलको निर्देशनमा बनेको चलचित्र फिर्केको रिलिज डेट पुष २१ गतेलाई तय गरेको कार्यक्रममा भनिएको छ।
ईकु उपनामवाट चर्चामा आएका सुलेमान शंकर अव चलचित्र फिर्के रिलिज भएपछि फिर्के नामवाट अझ चर्चामा आउने दावी भिजन संसारसंगको कुराकानीमा निर्देशक रवि डंगोलले गरेका छन्। चलचित्र फिर्केका निर्मातामा ओमलाल गुरुङ् र राजेश श्रेष्ठ तथा लेखक अभिमन्यू निरबी रहेका छन्। अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्केमा मित्र डी गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ।
बिश्व नेपाली र सुवास भुषालको संगीतमा रहेको फिल्ममा कुल दुई गीत रहेका छन्। इकु सुलेमान शंकरसंगै अर्पण थापा,ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी(उज्जु डार्लिङ), पुरन थापा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।
पोस्टर तथा ट्रेलर रिलिज कार्यक्रममा उज्जु डार्लिङ, दीपकराज गिरी, जितु नेपाल, आकाश अधिकारी लगायतले चलचित्र फिर्केको सफलताको कामना गरेका थिए। कार्यक्रम संचालन नरेश भट्टराईवाट भएको थियो।
प्रकाशन मिति–२०७४ साल मंसीर १३ गते बुधवार ।