काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौं उपत्यका वायु प्रदूषणको चपेटामा परेको छ। वायु प्रदूषणको खतराको तह माथी पुगेको छ। मध्य पुस महिनाको अन्तिम हप्तातिर आइपुग्दा काठमाडौं उपत्यकाको वायु प्रदूषणको व्यापक असर मौसममा परेको हो।

आइतवारदेखि उपत्यकाको मौसम खुल्न सकेको छैन्। धुम्म परेको हुस्सु लागेको जस्तो मौसम भएकोले सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ। केहीदिन अघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान पहिलो हिउँदे वर्षा भएको थियो। यद्यपि, यसले आकाश खुलाउन सकेको छैन। भिजिबिलिटी घटेको छ।

दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन। न्यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ। तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरुले जनाएका छन्। सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो। सोमबार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो। एक्वुआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ।

यसभन्दा माथि जानु चाहिँ घातक हुुने उनीहरुको भनाइ छ। यसरी उपत्यकाको वायु प्रदुषण घातक स्थितिमा पुगेको पाइएको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव बुधबारसम्मै रहने बताएको छ। काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको हो। त्यस्तैगरेर, विहान विहान मर्निङ वाक पनि नगर्न भनिएको छ।
प्रकाशन मिति–२०७७ साल पुस २१ गते मंगलवार ।