–रविन पिया
अस्टिन (टेक्सास, अमेरिका)। आउॅदो फेब्रुवरी १६, २०२३ मा नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्ष पूरा हुंदैछ । यो गौरबमय अवसरमा यही फेब्रुवरी १५, २०२३ का दिन टेक्सास राज्यको संसदमा “नेपाल डे” नामक प्रस्ताव पेश हुने भएको छ।

हरेक वर्षको फेब्रुवरी १६ लाई “नेपाल डे” घोषणाको प्रस्ताव टेक्सास राज्यको क्षेत्र नंबर १०५ का प्रतिनिधि टेरी मेजाले पेस गर्ने भएको छ। टेक्सासमा वसोवास गर्ने नेपालीहरु र बिभिन्न नेपाली संघसंस्थाको अनुरोधमा उक्त प्रस्ताव पेस हुन लागेको हो । टेरी मेजा नेपाल र नेपालीहरूलाई असाध्यै माया गर्ने र बिभिन्न नेपाली कार्यक्रममा उपस्थित हुन रूचाउँने टेक्सास राज्यका सांसद हुन् ।

सो प्रस्ताव टेक्सासको संसदबाट पारित भएमा नेपाल र नेपालीको लागि खुशी र गौरवको कुरा हुनेछ र टेक्सासमा १६ फेब्रुवरीलाई “नेपाल डे “ को रूपमा हरेक वर्ष मनाउन पाईने छ। “नेपाल डे” प्रस्ताव टेक्सास राज्यको राजधानी अस्टिन शहरमा अवस्थित संसद भवनमा १५ फेब्रुवरी २०२३ बुधवारका दिन प्रस्तुत गरिने हुँदा उक्त दिन बिहान १० बजे संसद भवन अगाडि बिभिन्न नेपाली संस्थाका सदस्यहरू तथा सकिने जति नेपालीहरूलाई उपस्थित हुनुहुन स्थानीय संस्था ग्रेटर अस्टिन नेपाली सोसाईटीले अनुरोध गरेको छ।
प्रकाशन मिति–२०७९ साल माघ २९ गते आइतवार ।