काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा सुनचाँदीको मूल्यमा गिरावट आउने अपेक्षा गरेतापनि ठीक त्यसको विपरित हुन पुगेको छ।

कोरोना कहरको कारण जारी लकडाउनको नेपालमा अन्त्य भएयता सुनचाँदी बजारमा सुनको मूल्यमा अचाक्ली बृद्धि हुंदैगएको छ। बुधवारसम्म नेपाली बजारमा सुनको भाउ तोलामै ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो। महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको थियो। अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो । सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ठप्प भएको महासंघले जनाएको छ।

सुन किन्नेभन्दा पनि बिक्री गर्न आउने ग्राहकका कारण देशभर दैनिक १० देखि १५ किलोसम्म फिर्ता सुनको खरिद गर्नु परेको व्यवसायीहरुले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले नेपाली बजार प्रभावित हुँदा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ। बुधबारको सुनको भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो। अर्को हप्तासम्म नेपाली सुनचाँदी बजारमा यस्तै गरेर सुनको भाउ अचाक्ली बृद्धि हुंदैजाने हो भने, प्रतितोला १ लाख नाघ्ने अनुमान गरिएको छ।


प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।