–श्याम स्मृत
काठमाडौं। अंग्रेजी भाषामा पनि लोकदोहरी गाउने कार्य भएको छ। त्यसको शुरुवात चर्चित लोकदोहरी गायिका सरु थापाले गरेकी छन्। काठमाडौंको दरवारमार्गस्थित गायिका थापाको आफ्नै जुनकिरी लोकदोहरी साँझमा मज्जाले नेपालीको अलावा अंग्रेजी भाषामा लोकदोहरी गाएर विदेशीहरुलाई पनि मनमग्न बनाउने कार्य गायिका थापावाट हुंदैआएको हो।

त्यसको अलावा हिन्दीभाषामा मज्जाले लोकदोहरी गाउन सक्ने बेजोड खुवी भएको कारण गायिका थापाको लोकदोहरी सुन्न र हेर्न जुनकिरी लोकदोहरी साँझमा विदेशीहरुको समेत घुइँचो लाग्ने गरेको छ। स्वदेशी तथा विदेशीमाझ अत्यन्त लोकप्रिय गायिका थापाले लोकदोहरी साँझको व्यवसाय गर्न थालेको पनि यो बर्षवाट १८ बर्ष पुगेको छ। काठमाडौंको दरवारमार्गमा लोकदोहरी सांझ खोल्ने पहिलो लोकदोहरी गायिका पनि थापा नै हुन्।

त्यो व्यवसाय गर्ने पुरुष लोकदोहरी गायकहरुको संख्या धेरैभएतापनि महिलाको संख्याभने न्यून रहेको छ। त्यो न्यूनतामा लोकदोहरी गायनको रेष्टुरेन्टको व्यवसाय गर्ने नेपालमा पहिलो लोकदोहरी गायिका सरु थापा नै हुन्। प्रथम लोकदोहरी महिला उद्यमी व्यवसायी गायिका सरु थापा आफै सुमधुर स्वरमा लोकदोहरीको भाकामा भाका मिलाएर लोकदोहरी लाइभ गाउन थालेपछि त्यसको माहोल नै बेग्लै हुने गरेको छ।

जुनकिरी लोकदोहरी साँझमा आउने पाहुनाहरु आफै पनि ती लोकदोहरीका भाकामा लठ्ठै पर्ने गरेको पाइन्छ। उनीहरु लोकदोहरीको भाकामा अत्यन्त रमाएर विछट्टै रमाइलो गर्ने परम्पराले जुनकिरी लोकदोहरी साँझको बेग्लै महत्व बढ्दैआएको छ। यस कार्यमा गायिका सरु थापाको निक्कै नै मेहनत र प्रयास रहेको पाइएको छ।

सानैदेखि लोकदोहरी गायनमा क्रियाशील बनेकी गायिका सरु थापाले व्यावसायिक रुपमा गीत गाउन थालेको १८ बर्षको उमेरदेखि नै हो। ऊर्जनशील यस उमेरवाट लोकदोहरी गीत गाएर निक्कै नै चर्चामा आएकी सरु थापाको लोकदोहरी गायनको आदर्श बीमाकुमारी दुरा हुन्। बीमाकुमारी दुरालाई लोकदोहरी गायनको मूलप्रवाह नै भन्न रुचाउने गायिका सरु थापाले लोकदोहरी गीत गाउन थालेको पनि दशकौ भैसकेको छ।

लोकदोहरी गायनलाई अत्यन्त प्रतिष्ठित र मर्यादित बनाउन लोकदोहरीका कलाकारहरुले नै गर्न र गराउन आवश्यक भएको जिकिर गर्ने गायिका सरु थापा देश तथा विदेशमा ख्यातिप्राप्त लोकदोहरी गायिका हुन्। विभिन्न देशहरुमा लोकदोहरी गायन प्रस्तुत गर्ने तथा धेरै देशको भ्रमण गर्ने पहिलो गायिका पनि सरु थापा नै हुन्।

लोकदोहरी गायनकी महारानी सरु थापा हालै देश वाहिर दुबईमा संपन्न भएको ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करणमा सर्वोत्कृष्ट लोकदोहरी गायिकाको अवार्ड प्रदान गरिएको छ। दुबईमा पाएको उक्त अवार्डवाट आफूलाई यस क्षेत्रमा अझै निरन्तर कार्य गरेर नेपाली मौलिक लोकदोहरीको संरक्षण र संवद्र्धनमा टेवा दिने जिम्मेवारी महशुश भएको प्रतिक्रिया गायिका थापाले दिएकी छन्।

लोक संगीतको हस्ती नै मानिएकी गायिका थापा गायिका मात्र नभइकन मन छुने गीतका गीतकार पनि हुन्। फुर्सदका बेला मज्जाले गीत लेख्ने अनि त्यही गीतमा लय दिएर भाका मिलाउंदै गाउने उनको बचपनको शौख पनि हो। त्यही शौखले नै उनी व्यावसायिक अनि सफल गायिका बनेकी हुन्। हालसम्म सयौं गीत उनले गाइसकेकी छन्। बाँचुञ्जेल गाइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

(साभार–स्वतन्त्र सञ्चारग्राम साप्ताहिक)
प्रकाशन मिति–२०७५ साल फागुन १२ गते आइतवार ।