तनहुँ । कही नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै १११ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा श्रीमान वोकेर दौडिने प्रतियोगिता भएको छ। तनहुँको देवघाट गाउँपालिकामा श्रीमान वोकेर दौडिने अनौठो प्रतियोगिता संपन्न भएको हो।

१४ जोडीले भाग लिएको श्रीमान वोकेर दौडिने प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको आयोजक देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गावहादुर थापाले वताएका छन्।

सुन्दैमा अनौठो लाग्ने श्रीमान वोकेर दौडिने प्रतियोगिता त्यो पनि अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा गर्नुको रहस्यमा नारी पनि पुरुष सरह शारीरिक र मानसिक रुपमा सक्षम छन भन्ने सन्देश दिन गरिएको आयोजक गाउँपालिकाकी उपाध्यक्ष विमला थापाको भनाई छ। प्रतियोगिताका विजेताहरुलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ।


प्रकाशन मिति–२०७७ साल फागुन २४ गते सोमवार ।