काठमाडौ। नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ। जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो।

नेपालले पपुवा न्यूगिनीमाथि शानदार ६ विकेटको जित हासिल गर्दै यो उपलब्धि चुमेको हो। अर्को टिम हङकङ नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालले एक खेलअघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो। विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउने भएकाले युएई, स्कटल्यान्ड र नेपालले अवसर पाउँदा पपुवा न्यूगिनी र हङकङ डिभिजन–२ मा घटुवा भएका छन्।

नेपालले पपुवा न्यूगिनीलाई नेपाल ६ विकेटले हरायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने। उनले ब्याटिङमा अविजित रहँदै ५० तथा बलितर्फ ४ विकेट लिए। जितका लागि पाएको ११५ रनको सामान्य चुनौती नेपालले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्नेक्रममा दीपेन्द्रले ५८ बलमा ५० तथा आरिफ शेखले २६ रन जोडे। कप्तान पारस खड्काले २०, अनिलकुमार शाहले ९, रोहितकुमार पौडेलले अविजित रहँदै ३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले एक रन बनाएका थिए।

त्यसअघि, टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै पपुवा न्यूगिनीलाई निर्धारित् ५० ओभरको खेलमा २७ ओभर २ बलमै अलआउट गर्दै ११४ रनमा समेटेको थियो। दीपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर तथा सन्दीप लामिछानेले ८ ओभरमा २९ रन खर्चेर समान ४र४ विकेट लिए। सोमपाल कामी र करण केसीले १र१ विकेट लिए। बिहीबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हरायो।

नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएकामा हङकङ १३० रनमै समेटियो। अब सातौं स्थान तथा प्लेट च्याम्पियनका लागि नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैगरी, नवौं स्थानमा लागि शनिबारै हङकङ र पपुवा न्यूगिनी खेल्नेछन्।
प्रकाशन मिति–२०७४ साल चैत्र १ गते विहीवार ।