काठमाडौं। समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा शुद्धिकरण सम्बन्धी अन्तरकृया तथा सम्मान कार्यक्रम बालुवाटारस्थित टुँडालदेवीमा सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षता एवं प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यतामा संपन्न भएको हो।

सो कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवद्वय मधुसुदन ढकाल, केशबराज कँडेल,पूर्व प्रहरी महानिरिक्षक अच्युत कृष्ण खरेल, नेपाली सेनाका पूर्व जर्नेलहरु यादव बहादुर रायमाझी, हिक्मत बहादुर चन्द, पूर्व न्यायधिश बुद्धरत्न शाक्य, पूर्वसभासद रमा गुरागाइँ, पूर्व एआईजी कल्याणकुमार तिमल्सिना, नरेश गुरुङ, अमरसिंह शाह विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। नेपाल प्रहरीका पूर्व डिआईजीहरु रुपाल शम्शेर जबरा, वीरशरण थापा, भोग बहादुर थापा, सामुदायिक प्रहरी टुँडाल देवीका पूर्व इन्चार्ज रामकृष्ण खरेल, सल्लाहकारहरु अच्युत सापकोटा, अनिशराम भटराई , जिएन शर्मा लगायतका अन्य विशिष्ट व्यक्तित्वहरुको पनि बाँक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा महानगरिय प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले आफू बसोबास गर्ने टोलबाटै सम्मान पाउँदा निकै हर्षित भएको बताउँदै कार्यक्रममा उपस्थित पूर्व प्रहरी प्रमुख, पूर्व न्यायधिस, पूर्व सभासद लगायत उपस्थित अन्य व्यक्तित्वहरुबाट पाएको सुझाव र गुनासो लाई मनन गर्दै समस्यालाई सुल्झ्याउन पहल गर्ने कुरा बताए।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडाल देवीका सचिव मिन प्रसाद पौडयाललले त्यस वडामा र धुम्बाराही चप्पल कारखाना, चन्डोल विशाल नगर क्षेत्रमा अनियन्त्रीत पार्किङ नियन्त्रण गर्नु पर्नेमा मादक पदार्थ सेवन चेक जाँच मात्र गरेको देखिँदै आएको देखिएको बताए। रातिको समयमा अपराध नियन्त्रण गर्न गएका प्रहरीले साईरन बजाउँदा स्थानीय वृद्ध र बच्चाहरुको निद्रा खल्बलिने गरेको र अपराधीहरु पनि साईरनको आवाजले फरार हुने गरेको कुरा अवगत गराउँदै त्यस क्षेत्रका ती समस्यालाई तत्काल समाधान गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलको प्रसंसा गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा अहम भूमिका खेल्नु भएको उल्लेख गर्नुका साथै समुदाय प्रहरी साझेदारीले स्थापनाकालको छोटो समय मै समाजमा हुने हरेक गतिविधि, अपराध नियन्त्रण, ट्राफिक तालिम, लगायतका कार्यहरुमा टुँडालदेवी सामुदायिक प्रहरी साझेदारीले सकृय भूमिका खेल्दै आएको तथा भावी दिनहरुमा पनि अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरे।


प्रकाशन मिति–२०७६ साल पुस १९ गते शनिवार ।